प्यूठान । झिमरुक गाउँपालिका–८, दिहाल्नामा लालीगुराँस टी–२० कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। कात्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिका सभापति एवं पूर्वमन्त्री तुल्सीराम शर्माले गर्नुभएको हो।
शनिबार उद्घाटन कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर महतरा क्षेत्री, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी, नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा, माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी ‘रोशन’, नौबहिनी गाउँपालिकाकी उपाध्यक्ष विष्णा थापा, नेकपा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट वडा अध्यक्ष तुलसबहादुर बस्नेत लगायतको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, खेलाडी तथा खेलप्रेमीहरू स्थानीय बासीको उल्लेखनीय सहभागी रहेको थियो।
नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले ट्रफी, प्रमाणपत्र र नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, प्रमाणपत्रसहित ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
जिल्लाकै अग्लो स्थानमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय क्रिकेटको विकास र खेलकुद पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दिहाल्ना खेलकुद तथा पर्यटन कार्यक्रमका अध्यक्ष गोविन्द गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन राजेन्द्र जीसीले गर्नुभएको थियो।


S.K. Creative Media Group