अर्घाखाँची । बाँदरका कारण किसानले व्यहोर्दै आएको कृषि बालीको क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु छनोट गरी आइतबारदेखि प्रभावित क्षेत्रमा खटाएको छ।
वन कार्यालयले गत बुधबार तीन दिनको समय दिई दरखास्त आह्वान गरेको थियो। शुक्रबारसम्म दुई महिलासहित ७० जनाले आवेदन दिएका थिए। स्थानीय बासिन्दा, बाँदर प्रभावित क्षेत्रका निवासी तथा बाँदर धपाउन सक्ने क्षमतालाई आधार बनाएर छनोट प्रक्रिया पूरा गरिएको कार्यालयले जनाएको छ। अन्तिम रूपमा छनोट भएका २६ जना भने सबै पुरुष रहेका छन्।
१८ देखि ४५ वर्ष उमेर समूहका हेरालुले आजदेखि असोज १० गतेसम्म अर्थात् दुई महिनासम्म बाँदर प्रभावित क्षेत्रमा किसानका खेतबारीको संरक्षण गर्नेछन्। उनीहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायण देवभट्टराईले जानकारी दिनुभयो।
यस कार्यक्रमका लागि प्रत्यक्ष सरकारी बजेट विनियोजन नभएको कार्यालयले जनाएको छ। शितगंगा नगरपालिका क्षेत्रभित्र रहेका सम्बर्द्धन प्रणालीमा आधारित सामुदायिक वन उपभोक्ता समूहहरूले रकम संकलन गरी वन कार्यालयमार्फत पारिश्रमिक व्यवस्थापन गर्नेछन्।
अर्घाखाँचीका ६ स्थानीय तहका ६१ वडामध्ये बाँदरबाट अत्यधिक प्रभावित २६ स्थान छनोट गरी हेरालु परिचालन गरिएको छ।
हेरालुहरूलाई कार्यक्षेत्रमा पठाउनुअघि दुई घण्टे अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो। प्रशिक्षणमा किसानको बारीमा प्रवेश गरेका बाँदरलाई सुरक्षित रूपमा धपाउने तरिका, बाँदरको आनीबानी, प्राकृतिक बासस्थानतर्फ फर्काउने उपायलगायतका विषय समेटिएको थियो। साथै, हेरालुहरूलाई गुलेली, टर्चलाइट र जकेट समेत वितरण गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जानकारी दिनुभयो।


S.K. Creative Media Group