वासुदेव गिरी
बिचौलियाको जालोमा… समाज अल्झिएको छ,
आफू चोखो भन्नेहरूको… भीड लागेको छ ।
सत्य कतै स्वार्थको पर्दाभित्र हराएको छ,
खोजौँ त… सत्यको चाबी कहाँ लुकाइएको छ ?
मुखमा आदर्श… मनमा छल,
बोलीमा मिठास… व्यवहारमा दलदल ।
न्यायको तराजु पैसाले ढल्किन्छ कि ?
इमानको मूल्य बजारमा बिक्छ कि ?
दोषीहरू निर्दोष बनेर हिँड्छन्,
निर्दोषहरू आरोप बोकेर रुन्छन् ।
सत्य बोल्नेहरू एक्लिँदै जान्छन्,
झुटका पसलेले सम्मान पाउँछन् ।
यहाँ प्रश्न गर्ने नै दोषी ठहरिन्छ,
सत्य बोल्ने आवाज नै दबाइन्छ ।
आफ्नो स्वार्थमा सबै रमाएका छन्,
अरूलाई ऐना देखाउँदै…
आफू लुकाएका छन् !
आखिर… सत्यको चाबी खै ?


S.K. Creative Media Group