प्यूठान । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख पर्व हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ ।
भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई टीका तथा फूलमाला लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने परम्परा छ । दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार दिने गर्छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार भाइटीकाका लागि आज बिहान ११ः०७ बजेको साइत उत्तम रहेको छ । यद्यपि, दिनभर टीका लगाउन कुनै बाधा नरहेको उहाँले बताउनुभएको छ। राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाइमाग्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेको चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ ।
भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी सहित यमराज, यमुना तथा अन्य देवीदेवताको आराधना गर्ने परम्परा छ । त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने र मखमली, सयपत्री तथा गोदावरीलगायत फूलका माला पहिर्याउने गरिन्छ ।
सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम, सद्भाव र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा लिइन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वले पारिवारिक एकता र आपसी सम्मानको सन्देशसमेत दिने गरेको छ ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ।
त्यस्तै दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ।वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाकाले जनाएको छ ।
यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।


S.K. Creative Media Group