प्यूठान । नौबहिनी गाउँपालिकामा विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूलाई व्यवहारिक ज्ञान र सकारात्मक सोचको विकास गराउने उद्देश्यले दुईदिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा शुक्रबारदेखि गंगा माध्यमिक विद्यालय, बहानेमा कार्यक्रम सुरु भएको छ । नौबहिनी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा प्रार्थना व्यवस्थापन, सांगीतिक पीटी एवं विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरूका लागि व्यवहारिक ज्ञानसम्बन्धी विषय समेटिएका छन् ।

कार्यक्रमको सुरुवातमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ‘सिक्दै सिकाउँदै’ शैक्षिक राष्ट्रिय अभियन्ता तथा प्रशिक्षक हरिश वलीले सहजीकरण गर्नुभएको छ । उहाँले सांगीतिक पीटी, व्यवहारिक अभ्यास र उत्प्रेरणामूलक प्रस्तुतिमार्फत विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूलाई जीवनोपयोगी ज्ञान, सकारात्मक सोच, अनुशासन र व्यवहार परिवर्तनका विषयमा उत्प्रेरित गर्नुभएको थियो ।
प्रशिक्षक वलीको प्रस्तुतिमा सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक हात उठाउँदै विभिन्न अभ्यासमा सहभागिता जनाएका थिए । उहाँका प्रेरणादायी तथा भावनात्मक प्रस्तुतिले सहभागीहरूलाई भावविह्वल समेत बनाएको थियो ।
कार्यक्रमले शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहार, अनुशासन, संस्कार र जीवनोपयोगी सीपसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम शनिबारसम्म जारी रहनेछ । दोस्रो दिन थप व्यवहारिक अभ्यास, उत्प्रेरणामूलक प्रस्तुति तथा सिकाइका गतिविधि सञ्चालन गरिने छ ।



S.K. Creative Media Group