काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा भन्ने स्थानमा सडक माथिबाट खसेको पहिरो पन्छाएपछि एकतर्फी यातायातका साधनको आवागमन खुलेको छ। जिल्लाको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा चोकबाट करिब एक सय मिटर पर नागमन्दिर नजिकै खसेको पहिरो उपकरणको सहायताले हटाएपछि एकतर्फीरुपमा सवारी आवागमन खुलाइएको हो ।

अविरल वर्षा भैरहेकोले सडकमा खसेको पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब १०ः३० बजेदेखि सडक माथिबाट पहिरो खसेर रोकिएको सडक करिब ७ घण्टा पछि साँझ ५ बजेदेखि एकतर्फीरुपमा खुलाइएको प्रहरीले जानकारी दिएको छ। पहिरोको कारण काठमाडौँ-नौविसे खण्डमा दिनभर काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधान ठप्प रहेका थिए। यातायात रोकिएपछि गन्तव्यमा हिडेका यात्रुलाई दिनभर सास्ती भएको थियो ।

बिहिवार बिहान काठमाडौं भित्रने अर्को मुख्य सडक खण्ड मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध नभएकोले यातायातका साधन सामान्य रुपमा चलिरहेका मुग्लिन प्रहरीले जनाएको छ ।

त्यस्तै तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । तनहुँको घाँसीकुवामा हिजोदेखि खसेको पहिरो पन्छाउन नसक्दा राजमार्ग अवरुद्ध भएको हो । व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ठुलो ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग भएर पोखरा भित्रिने र पोखराबाट बाहिरिने गाडी तनहुँमा रोकिएका छन् । करिब एक सय मिटर माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएकोले सो सडक खुलाउन अझै केही समय लाग्ने तनहुँ प्रहरीले जनाएको छ ।

तालघरे हुँदै पहिरो कटेर घाँसीकुवामा निस्कने वैकल्पिक बाटो भए पनि ठूला गाडी उक्त सडकमा चल्न सकेका छैनन् । साना गाडी भने सो बैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ । सडक खुलाउने पर्यास भैरहेको तनहुँ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय