काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताउनुभएको छ । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको ‘संविधानको एकदशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले हाल देखिएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई थप बलियो र सबल बनाउँदै लैजानुपर्ने बताउनुभएको हो ।
सभापति देउवाले प्रदेशहरुलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन । यो बनिसकेको संरचनालाई कसरी थप सबल, बलियो र प्रभाकारी बनाउने तर्फ लाग्नुपर्ने सभापति देउवाले बताउनुभयो।
उहाँले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीताबारे कसैले प्रश्न नउठाएको पनि बताउनुभयो । कतिपय समुदायले अहिले पनि चुनाव जितेर मुलप्रवाहमा आउनसक्ने अवस्था नरहेको बताउँदै समावेशीता आवस्यक रहेको भनाई सभापति देउवाको थियो । उहाँले सबै जातजातीलाई मूलप्रवाहीकरण गर्न समानुपातिक समावेशीताको सान्दर्भिकता अझै महत्वपूर्ण बन्दै गएकोले समानुपातिक समावेशीतालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड छ । संविधानले परिकल्पना गरेअनुसार समानुपातिक विकासका लागि पनि अहिलेको यस व्यवस्थालाई पूर्ण रूपमा लागू गर्नुपर्ने भन्दै उहाँले सोहीअनुसार संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसले राजदरवारमा निहित रहेको अधिकारलाई जनतामा ल्याउन र जनप्रतिनिधिमार्फत संविधान निर्माण गरेर त्यसलाई वैधता दिन खेलेको भुमिका महत्त्वपूर्ण रहेको वरिष्ठ अधिवक्ता संविधानविद् पूर्णमान शाक्यले बताउनुभयो । उहाँले अब त्यसको संस्थागत विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । संविधानले अंगीकार गरेको मूल्य मान्यतालाई अझ बलियो बनाउने गरी क्रियाशील हुनपर्नेमा उहाँको जोड थियो ।
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको जग संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता नै भएकाले त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘कांग्रेसले समावेशीतालाई अंगिकार गर्दै विभेद र असमानता हटाउन गरेको योगदान महत्त्वपूर्ण रहेको र यसलाई जनस्तर सम्म लगेर थप बलियो बनाउनुपर्ने बताउनुभयो ।


S.K. Creative Media Group