सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सल्यान दार्मामा भूकम्पपछिको पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको छ । सनिवार मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको हो ।
जिल्लाको दार्मा गाउँपालिकाको-५, स्थित ढाकाडाम कोटमा भूकम्प प्रभावित घरधुरीहरुको अस्थायी आवास तथा भौतिक संरचना निर्माणका लागि स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सन्चार तथा सूचना प्रविधिमन्त्री शर्माले सबै सरकार, पार्टी र जनताले अहिले पुनर्निर्माणलाई सेवागर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो। सरकारले पुनर्निर्माणको काम एक वर्षभित्र पुरा गर्ने निर्णय गरेको जानकारी गराउदै मन्त्री शर्माले आवश्यक परे देशका सेना प्रहरी परिचालन गर्न सकिने नीतिगत निर्णय पनि भइसकेको बताउनुभयो।
मन्त्री शर्मासँगै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा,स्थानीय तहका जनप्रतिनिधि प्रदेश, जिल्ला तहका नेता कार्यकर्ता, स्वयंसेवक लगायतले श्रम कार्यमा सहभागी गर्नुभएको थियो।
भूकम्पबाट सल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ। १ हजार १ सय ७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १ हजार ८१ घरमा आंशिक क्षति भएको छ ।
त्यस्तै पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ। त्यस्तै १ हजार १ सय ७९ घरधुरीका ६ हजार ३ सय १८ जति जनसंख्या बिस्थापित भएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group