डडेलधुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई प्रहरीले सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी ५८ बर्षिया टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।
अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसक्नुभएको छ । ‘घटना निज टेकबहादुर भण्डारीको स्टेशनरी पसल नै हो’, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गर्नुभयो ।’ स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् ।
बालिकाको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ । ‘जवरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्ने हाम्रो अनुमान छ । तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन’, उहाँले भन्नुभयो । किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिल जानुभएको थियो । पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ ।



S.K. Creative Media Group