स्थानीयले क्षतिपूर्तिको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अन्तरगत केरखा सडकखण्डमा अवरुद्ध ।
झापा । झापामा बसको ठक्करबाट एकै परिवारका हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु भएको छ । बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १-०१- ००१ ख ४३३१ नम्बरको रात्रिबसको ठक्करबाट ईलेक्ट्रिक साईकलमा सवार कमल गाउँपालिका-३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उहाँको १० वर्षीया नातिनी कृपा लिम्बूको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडकखण्डमा भएको दुर्घटनामा परी स्थानीय टेकबहादुर लिम्बू र उहाँको १० वर्षीया नातिनी कृपा लिम्बूको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ। मृतक हजुरबुबा नातिनीको शव सडकमै राखिएको छ।
यतिबेला झापाको केर्खा बजारको तनावपूर्ण स्थिति रहेको छ। आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका स्थानीयले बताएका छन् ।
सयौंको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका छन्। सडकमा टायर बालेर आन्दोलनकारीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेको प्रहरीले जानकारी दिएको छ। असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन्। भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन्।
मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए। बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो। उक्त स्थानमा बर्थडे केक र मासु सडकभरि छरपस्ट अवस्थामा रहेको बताईएको छ।
फोटो : गोपाल गिरी, झापा ।



S.K. Creative Media Group