काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । जस अनुसार काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङमा एक सय ४९ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा कायम भएको छ । निगमले पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेको छैन । आयल निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।



S.K. Creative Media Group