गुल्मी हरिबोधनी एकादशीको अबसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा बिशेष मेला एवं पुजा गर्ने भिड लागेको छ  । हरिबोधनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा ठुलो मेला लाग्नुका साथै स्नान र पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।

रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । धार्मिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्र रेसुङ्गामा विहानैदेखि गुल्मी लगायत विभिन्न स्थानबाट श्रद्धालुहरु भक्तजन पुजा गर्नुका साथै मेल अवलोकनका लागि रेसुङ्गा जाने गर्दछन् ।

सदरमुकाम तम्घासदेखि अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिशेष मेलामा भिड बढेको रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताउनुभयो । रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएका छन् ।


एकदशीमा रेसुङ्गा पोखरीमा नुहाएमा भूल गरेर गरेका पापहरु नष्ट हुने मान्यताका आधारमा रेसुङ्गा पोखरीमा नुहाउन पुगेको गुल्मीदरबार जुभुङ्गकी पार्वती थापाले बताउनुभयो । उहाँले रेसुङ्गा क्षेत्रमा शुद्ध मनले पूजा पाठ गरेमा मनोकांक्ष पुरा हुँदै आएकाले रेसुङ्गा पुग्ने गरेको बताउनुभयो ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने उदेश्यले रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरेको छ ।

रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । यस मन्दिरमा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।  सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।

रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक पनि कालोपत्रे  भएको छ । अहिले कालोपत्रे भएसँगै रेसुङ्गा पुग्न सहज रहेको रेसुङ्गा मेलामा पुगेकी मनिसा रानाले बताउनुभयो । रेसुङ्गामा विभिन्न मन्दिरहरुसँगै पैदल मार्ग पनि निर्माण गरेर चिटिक्क पारिएको छ ।  रेसुङ्गाको मेलालाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।

द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । ऋष्यशृङ्गले तपस्या गरेको स्थानमा ब्रह्चारी तदर्थानन्दले काचो खाना मात्रै खाएर वषौंदेखि तपस्या गर्दै आएका छन् ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

यस क्षेत्रमा २५८ प्रजातिका चराहरूको साथै बिश्वमै लोपउन्मुख गिद्दसँगै चितुवा, मृग, घोरल, खरायो आदि जनावरहरू पाइन्छन् ।  हरीबोधनी एकादशी अबसरमा गुल्मी पाल्पा स्याङ्गजाको संगम स्थल रिडीमा ऋशीकेश उत्सवको अवसरमा रिडीमा धार्मिक मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय