प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले दुई आर्थिक वर्ष २०७९-०८० र २०८०-०८१ मा सम्पुर्ण चाैमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार झिमरुक गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले दुई आर्थिक वर्षमा भएको काम र उपलब्धि सहितको प्रगति प्रतिबेदन सार्वजनिक गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताले उठाएको सकारात्मक र सहि माग र गुनासोको तत्कालै सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ ।
झिमरुक गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना र कामको प्रगति जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको गाउँपालिकाकाले जनाएको छ ।
सार्वजनिक कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले आर्थिक वर्षको अवधिमा गाउँपालिकाले गरेका सम्पुर्ण काम र प्रगति सहितको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे ।
कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, सरसफाइ, यातायात लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास, पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन, शान्ति र सुशासन लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए ।
स्थानीय तहका काम सेवाप्रवाहको बारेमा सरोकारवालाहरूले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, योजना निर्माण, सेवा प्रबाह लगायत अन्य विषयबस्तुहरुमा जिज्ञासा, प्रश्नहरुकाे जवाफ पालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा, वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुख कर्मचारीहरूले जवाफ दिनुभएको थियोे ।
उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापक, बैंक तथा वित्तीय संस्थाका प्रमुख, टोल विकास संस्था, उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी लगायत स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण संघर्ष मिडिया प्रालिका सञ्चालक बिमल पोख्रेलले गर्नुभएकोे थियो ।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिकमा गर्नुपर्ने नीति भएपनी सार्वजनिक सुनुवाइ कार्यक्रमलाई व्यवस्थित गर्न नसकिएकोले आगामी दिनमा प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरिने गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले सहभागी सरोकारवालासँग प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।
सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, योजना निर्माण, सेवा प्रबाह लगायत अन्य विषयबस्तुहरुमा पालिका जिम्मेवार भएर लाग्नुपर्ने सुझाव दिएका थिए । जनताको सुझावले पालिकाको बिकास र समृद्धिको लागि थप सहयोग पुग्ने भएकोले सुझाबलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता सहित काम गर्ने क्रममा भएका कमि कमजोरीलाई सच्याएर अगाडि बढ्ने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो ।







S.K. Creative Media Group