अर्घाखाँची । पाणिनि गाउँपालिका-३, खिदिम गोहेलेकी ६५ वर्षीया रामप्यारी नेपाली आफ्नो नागरिकताको प्रमाण पत्र नहुँदा राज्यले प्रदान गर्ने ‘एकल महिला’ सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुभएको छ ।

रामप्यारीका पति लालबहादुर नेपालीको मृत्यु भएको र अपाङ्गता छोरीलाई साथमा लिएर गाउँको परै बनको नजिक झुपडीमा लामो समयदेखि बस्दै आउनुभएको छ । उहाँको नागरिकताको प्रमाण पत्र नभएका कारण सामाजिक सुरक्षा भत्ता पाउन सक्नुभएको छैन ।

रामप्यारी पाणिनि गाउँपालिका-३, खिदिम साधनबुटामा जन्मनु भयो र हर्राबोट गोहेलेमा उहाँको विवाह भयो । तर पहिला उहाँलाई नागरिकताबारे थाहा नभएको र किन चाहियो भन्ने बुझाइसम्म हुन नसकेको कारण रामप्यारीको नागरिकता बन्न नसकको सामाजिक अभियान्ता सूर्य केसीले बताउनुभयो ।

रामप्यारीका पति लालबहादुरको कमजोर मानसिकता भएकोले पत्नीको नागरिकता बनाउन निरन्तर पहल गरिदिने र आवश्यक प्रक्रियाका कागजात जुटाउन खट्ने मानिस पनि नभएका कारण नागरिकता बन्न नसकेको पाणिनि गाउँपालिका-३ वडा कार्यालयका प्राविधिक सहायक प्रिन्स सारु मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘रामप्यारी भारी काम गर्न सक्नुहुन्न । आम्दानीको श्रोत छैन । ज्येष्ठ नागरिक अवस्था हुँदा पनि अनागरिक भएका कारण सामाजिक सुरक्षा भत्ता पाउन सक्नुभएको छैन ।’ आफू र अपाङ्गता हुनुभएकी छोरी पालिन कष्ट भएको गुनासो लिएर वडा कार्यालयमा आएको उहाँ बताउनुहुन्छ ।

पहिले पति र छोरीको सामाजिक सुरक्षा भत्ताबाट घरमा खाना खर्च चलेको थियो । पतिको मृत्यु भएपछि उहाँहरूको दैनिक जीवन निकै कठिन भएको छ । छोरा बुहारी कामको खोजिमा भारततिर गएका छोराले घरको हेरचाह र सहयोग नगरेको नेपालीको गुनासो छ ।

पाणिनि गाउँपालिका-३ का वडाध्यक्षले रामप्यारी यही जन्मेको बासिन्दा भएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘हामीले नागरिकता उपलब्ध गराउन नखोजेको होइन, नीति नियम अनुसार आवश्यक कागजात र प्रमाण जुटाएर प्रक्रियामा आउनुहुन्छ भने नागरिकता बन्न सक्छ । अहिलेसम्म नागरिकता बन्न नसक्नुमा कहाँ के समस्या भइरहेको छ आवश्यक सल्लाह गरेर नागरिकता उपलब्ध गराउन सहयोग गर्ने छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय