प्यूठान । प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले पुसको पहिलो हप्तादेखि प्रथम भित्रिकोट प्यूठान महोत्सव सञ्चालन गर्ने भएको छ । पुस ५ गतेदेखि १३ गतेसम्म प्यूठान नगरपालिका–७ टिकुरीमा महोत्सव सञ्चालन गर्न लागेको हो ।
आईतबार बाग्दुलामा भएको पत्रकार भेटघाट कार्यक्रममा प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यारअलि खानले नगर बजार क्षेत्रको सचिवालय भवन निर्माण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । “नगर बजार क्षेत्रको सचिवालय बनाउन जग्गा खरीद गरेका छौं,” उहाँले भन्नुभयो, “महोत्सवबाट हुने आम्दानीबाट भवन बनाउने उदेश्य रहेको छ ।”
८० हजारदेखि एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सव अवधिभर दुई करोड रुपियाँको कारोबार हुने लक्ष्य राखिएको बताउनुभयो । महोत्सवमा जिल्लाको कृषि उपजको विक्रि वितरणलाई प्राथमिकता दिँदै निःशुल्क स्टलको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
महोत्सवमा अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेश गराइने आयोजकले जनाएको छ । विद्यार्थीलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइने अध्यक्ष खानले बताउनुभयो । स्थानीय कला संस्कृतिको प्रर्वद्धनका लागि प्युठान डान्स आईडल समेत सञ्चालन हुने उहाँको भनाई छ ।



S.K. Creative Media Group