प्यूठान । झिमरुक गाउँपालिकाले आफ्नो मातहतमा रहेका कर्मचारीहरुसँग चालू आर्थिक वर्षमा भए गरेकोको प्रगति बारे समिक्षा गरेको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक सकिएसँगै पहिलो चौमासिकमा वडा तथा शाखाहरुबाट भएको कार्य प्रगति र आगामी चौमासिकमा गर्नुपर्ने कामको समिक्षा गरिएको हो ।
कार्यालयले नियमित गर्नुपर्ने काम र बिषयको रिपोर्टिङ र मासिक प्रगति प्रतिबेदन बनाउने र निर्धारित समयमा कार्यालयमा पठाउनुपर्ने भएकोले यस तर्फ कर्मचारीले चनाखो भएर काममा खट्न मातहतका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले अनुरोध गर्नुभयो। शाखाले गरेको दैनिक कार्यको प्रगति बनाउदा कार्यालयमा भएगरेको कामको स्पष्ट तथ्यांक आउने र सो विवरणको आधारमा आगामी महिनाको कार्य योजना बनाउन सहज हुने भएकोले कर्मचारी जिम्मेवार भएर काममा खट्नुपर्ने बताउनुभयो ।
कार्यालयले नियमित गर्ने कामहरुको मासिक त्रैमासिम वार्षिक रुपमा वडा, बिषयगत शाखा, हुदै प्रमुख प्रशासकीय अधिकृतको टेबुलमा आइपुग्ने गरि नियमित रिपोर्टिङ र मासिक प्रगति पठाउन आग्रह गर्नुभयो । उहाँले सोही रिपोर्टको आधारमा थप कार्ययोजना बनाउन सहज हुने बताउनुभयो । निर्माणका योजनाको कामलाई टिकाउ र बलियो बनाउन स्पेसिफिकेसनमा भए अनुसार काम गराउने र निर्माण स्थलमा पुगेर नियमित अनुगमन, मुल्यांकन र निरिक्षणको पाटोमा जिम्मेवार भएर लाग्न पनि सम्बन्धित प्राबिधिकलाई उहाँले आग्रह गर्नुभयो ।
चालू आर्थिक वर्षको लागि पालिकाले करिब २ सय ४६ भौतिक पुर्वाधार निर्माणको योजनामा बजेट बिनियोजन गरेको छ । ती योजना मध्ये अहिलेसम्म ४६ योजनाको सम्झौता गरि काम सुरु भएको पालिका इन्जिनियर अशोक जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाकि योजनाको लागि उपभोक्ता समिति गठन, प्राबिधिक सर्भे र लागत अनुमान तयारको काम भइरहेको जानकारी दिनुभयो । सम्झौता गर्न बाकी रहेका योजनाहरुको लागत अनुमान तयार गरि तत्काल कार्य प्रारम्भ गर्न समेत मातहतका प्राबिधिकलाई आग्रह गर्नुभयो । ठेक्का मार्फत गरिने केही ठुला आयोजनाको काम सुरु भएको र अन्यको पनि लागत अनुमान तयार गरि ठेक्का खोल्ने काम भएको उहाँले बताउनुभयो ।
बैठकमा वडा तथा शाखाले गरेको पहिलो चौमासिकमा भए गरेको कामको प्रगति प्रस्तुत गरिएको थियो । बैठकमा वडा सचिव, प्राबिधिक, पालिकाका शाखा प्रमुख, कर्मचारी लगाएको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group