प्यूठान । पक्की पुलको आशामा बसेका स्थानीय पक्की पुल निर्माण हुन थालेपछि खुशी भएका छन् । झिमरुक नदीको किटघाटमा पक्की पुल निर्माणको काम अघि बढेपछि सहज आवतजावत हुने भन्दै स्थानीय खुशी भएका हुन् ।

झिमरुक गाउँपालिकाको वडा नम्वर ६ र ७ लाई जोड्ने कुटिचौर–कुता–तुषारा सडक खण्ड अन्र्तगत झिमरुक नदीमा पक्की पुल निर्माण कार्य अघि बढेको छ । “वर्षौदेखीको स्थानीयको माग पुरा भएको छ,” स्थानीय इन्द्रमणी पोख्रेलले भन्नुभयो,“पुल बनेपछि गाउँमा बाह्रै महिना यातायात चल्नेछ ।” पुल नहुँदा अहिले झिमरुक नदी तरेर सवारी साधन वारपार गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । पुल बनेपछि हिड्डाँडा, तुषारा, दिहाल्ना, खवाङ, पुँजा, लिवाङ, रजवारा सम्मका नागरिकलाई फाइदा पुग्नेछ ।

लुम्बिनी प्रदेश अन्र्तगत सडक पूर्वाधार विकास कार्यालय प्यूठान मार्फत पुल निर्माण कार्य अघि बढेको हो । चार करोड ८७ लाख ६३ हजार ४४८ रुपियाँ लागतमा पुलको ठेक्का लागेको कार्यालयका निमित्त प्रमुख चन्द्र बहादुर शाहले जानकारी दिनुभयो । ०८२ पुस २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ०८१ असार ११ गते निर्माण कम्पनीसँग सम्झौता भएको बताउनुभयो । कुल ४६.८५ मिटर लम्बाईको पुल बन्नेछ ।

निर्माण कम्पनी आँसु निर्माण सेवा प्यूठानका प्रोपाईटर बालाजु श्रेष्ठले सम्झौता अवधिभित्रै निर्माण कार्य सम्पन्न हुने बताउनुभयो । उहाँले योजनाका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय