प्यूठान । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति प्यूठानका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल प्यूठान शाखाद्वारा शनिबार आयोजित कार्यक्रम माण्डवी गाउँपालिका प्यूठानको सभाहल देविस्थानमा सम्पन्न भएको हो ।

शाखाका निवर्तमान अध्यक्ष टिकाराम पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य नमराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्यूठानका अध्यक्ष प्रभात केसी, नेकपा(माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य बुद्ध  बस्नेत र प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष मानसिंह विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सुशील पोख्रेल, प्रेस सेन्टर नेपाल प्यूठान शाखाका ईन्चार्ज हरिप्रसाद भण्डारी लगायत पार्टी नेताहरु,निवर्तमान पदाधिकारी,नवनिर्वाचित कार्यसमिति लगायत पत्रकारहरुको आतिथ्यता रहेको शाखाका सचिव केशर सुनारले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नमराज अधिकारी(रोशन) ले प्रेस सेन्टर नेपाल पत्रकारितामा नयाँ आयाम थप्ने संगठन रहेको बताउनुभयो । नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदै उहाँले भन्नुभयो, “प्यूठानको पत्रकारिता जगतमा प्रेस सेन्टर नेपालको यो टिमले अहम् भूमिका पुर्‍याउन अग्रसर रहोस् ।”

कार्यक्रममा बोल्दै विशेष अतिथि मानसिंह विश्वकर्माले प्रेस सेन्टर नेपालको पृष्ठभुमिमाथी प्रकाश पार्दै प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको हो । प्रेस सेन्टर नेपाल तत्कालिन समयमा रोल्पामा महेश्वर दाहालको नेतृत्वमा राष्ट्रिय भेला गरि अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ हुदै हाल प्रेस सेन्टर नेपाल रहेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । विश्वकर्माले प्रेस सेन्टरले सरकारलाई गर्नुपर्ने सहयोगका विषयमा अन्तरक्रिया हुनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “संगठन र बिचार निर्माण प्रथम प्राथमिकता हो समाचार लेखन शैलिमा सुदृढ दोस्रो प्राथमिकता हो ।”

कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराम पोख्रेलले निर्वाचित अध्यक्ष यादव पौडेललाई आसन ग्रहण गरेको कुर्सी हस्तान्तरण गर्नुभएको थियो भने निवर्तमान सचिव रमेश गिरीले निर्वाचित सचिव केशर सुनारलाई माईन्यूट हस्तान्तरण गरि पद हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष टिकाराम पोख्रेलले विगतमा संगठनमा देखिएका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनुभयो । पोख्रेलले प्रेस सेन्टर नेपाल महत्त्वपूर्ण जिम्मेवारीलाई आत्मसात गर्दै उत्कृष्ट शाखा बनाउन अग्रसर हुनुपर्ने बताउनुभयो ।

शाखाका उपाध्यक्ष राधिका भुसालले अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन निवर्तमान सचिव रमेश गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय