दीपेन्द्र सुनार
प्यूठान । झिमरुक गाउँपालिकाको अमर सिंह माध्यमिक विद्यालय सौतामारेले आफ्नो स्थापनाको ५५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।

शुक्रबार विद्यालयको प्राङ्गणमा भएको कार्यक्रमको प्रतिनिधि सभा सदस्य सूर्य थापाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य थापाले आफुले सुरुमा अक्षर आरम्भ गरेको विद्यालयले ५५ औं वार्षिक उत्सव मनाएको अवसरमा विद्यालयको सफलताको कामना गर्दै विद्यालयले आफूलाई खोजेको खण्डमा जस्तोसुकै अवस्थामा भएपनि सहयोग गर्ने बताउनुभएको छ ।

उहाँले अहिले प्यूठानका धेरै जसो विद्यालयको अवस्था दुर्दशा रहेको, नतिजाको हिसाबले हेर्दा धेरै विद्यालयहरु शुन्य अवस्थामा पुगेका भन्दै यसो हुन नदिन विद्यालयका कुनै पनि शिक्षकहरुले पार्टीको झन्डा नबोकी आफ्नो काम र कर्तव्यमा लाग्न आग्रह गर्नुभएको छ ।

साथै विद्यालयको नतिजा उत्कृष्ट ल्याउन अथाह मेहनत गरेर रिजल्टमा देखाए यो विद्यालय छोडेर यहाँका आमाबाबुले बजारमा बसी आफ्ना नानीबाबुहरु पढाउन नपर्ने समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष तिलक जि.सी.ले सामुदायिक विद्यालय लाई नमुना बनाउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । शिक्षामा गुणस्तर सुधारका लागि शिक्षक र बिद्यार्थी मात्र नभएर सबैको साथ र समन्वयले सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा मदाने गाउँपालिका गुल्मीका अध्यक्ष महेन्द्र बहादुर कुवंर, विद्यालयका भुतपुर्व शिक्षक खिम बहादुर जि.सी. र बिद्यार्थी बिनीशा जि. सी. ले मन्तव्य राख्नुभएको थियो ।
विद्यालयले वार्षिक उत्सव अन्तर्गत अन्तर सदनात्मक विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्नुका साथै विद्यालयले २०७६ सालमा संचालन गरेको स्वर्ण महोत्सव को अवसरमा आर्थिक सहयोग गर्ने सहयोग दाताहरुको नामवली र तस्बिरहरु समाबेश गरिएको ताम्रपात्र प्रतिनिधि सभाका सदस्य थापाबाट अनावरण गरिएको थियो ।

साथै विद्यालयका प्रधानाध्यापक दान बहादुर जि.सी.ले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चन्दादाताहरु लाई सम्मान गरिनुका साथै विद्यालयका भुतपुर्व शिक्षक खिम बहादुर जि.सी.ले आफ्नो बुवा रेशम बहादुर जि.सी. र आमा कृष्ण कुमारी जि.सी.को नाममा अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।

कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा झिमरुक १ का वडा अध्यक्ष धुर्व्रराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका बिमला भट्टराईको स्वागत र संचालन शिक्षक सुर्य जिएमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय