प्यूठान । आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम झिमरुक गाउँपालिकाको सभाहल मच्छिमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा डिभिजन वन कार्यालय प्यूठान संगको सहकार्यमा झिमरुक गाउँपालिका मच्छिमा छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रमको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जिल्लाका सबै पालिकामा पालिका स्तरीय छलफल तथा कार्ययोजना कार्यान्वयन गराउन लागिपरेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको प्रमुख जिल्ला अधिकारी आचार्यले आगलागीका घटना हुन नदिन समयमै सबै सचेत भएर अगाडि बढ्न आग्रह गर्नुभयो । प्रजिअ आचार्यले आगलागी पुर्व जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने साबधानी, कानुनी बिषय, खोज तथा उद्दार सम्बन्धि तालिम बिषयमा अभियान संचालन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
कार्यक्रममा वडा स्तरीय आगलागी पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ । कार्ययोजना अनुसार वडा अध्यक्ष संयोजक रहनेगरि समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ । कार्यदलले सम्पर्क ब्याक्ति तोकि प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयंत्र समितिमा जानकारी गराउन कार्यदललाई प्रमुख जिल्ला अधिकारी आचर्यले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले पहिलो कुरो आगलागी लाग्न दिनुभएन तर लागि हाल्यो भने पनि नियन्त्रणको पुर्व तयारीमा जुट्नुपर्ने दायित्व वडा पालिका र सामुदायिक बन र स्थानीय जनताको भएकोले जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । जनतालाई आगलागी बारे सुसूचित गर्ने काममा स्थानीय सरकार सचेत रहनुपर्ने बताउनुभयो । आगलागीबाट जिल्ला गाउँलाई जोगाउन सबैको उत्तिकै जिम्मेवारी छ। उहाँले भन्नुभयो, “त्यसको लागि पालिकाले आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारी सम्बन्धि कार्ययोजना बनाएर अगाडि पढ्नुपर्ने हुन्छ।” आजको मुख्य जोड बन जोगाउने र आगलागी हुन नदिने नै हो। आगलागी नियन्त्रणको लागि सचेतताका अभियान चलाउनुपर्ने बताउनुभयो।
डिभिजन वन कार्यालयका प्यूठानका डिभिजन प्रमुख धनेश्वर घिमिरेले आगलागी तथा डढेलो नियन्त्रणका लागि कार्यालयले आफू मातहतका कार्यालय तथा विभिन्न वन उपभोक्ता समुह समुदायलाई परिचालन गरिने बताउनुभयो । उहाँले जबसम्म बन हाम्रो हो भन्ने भावना जागरुक हुँदैन तबसम्म बन जोगाउन सकिदैन । बनको संरक्षण सम्बर्द्धन गर्ने र उपभोक्ताले आवश्यकता अनुसार प्रयोग गर्ने अधिकार उपभोक्तालाई नै दिएकोल्रे बन जोगाउने पनि प्रयोग पनि गर्न सकिने बताउनुभयो । जङ्गलमा अनावश्यक रुपम बढेको झाडी सफाइ गर्ने बुट्यान कटान गर्ने काम नियमित गर्नुपर्ने बताउनुभयो। ठुलो बिरुवाको लागि बन प्राबिधिकको सल्लाह अनुसार दुई तिहाइ बोट कटान गर्न पाउने प्रावबधन छ । सामुदायिक बन उपभोक्ता समितिले सामुदायिकबाट आएको आन्तरिक आम्दानी बन जोगाउने कार्य, डढेलो नियन्त्रण, आय आर्जनका क्षेत्रमा लगानी गरी सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
आगलागीको मुख्य इन्धन स्याउला, सोत्तर, घाँस हो आगलागीलाई बढावा दिने बस्तु हावा र आगोको स्रोत सलाई लाइटर भएकोले यसलाई समुदायले सहि ब्यवस्थापन गर्ने हो भने पनि आगलागीको घटनामा कमि ल्याउन सकिने डिभिजन वन कार्यालयका प्यूठानका डिभिजन प्रमुख घिमिरेले बताउनुभयो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आगलागी नियन्त्रणको कार्यलाई गाउँगाउँमा जनचेतनाको रुपमा अभियान चलाउनुपर्ने बताउनुभयो । यो अभियान सफल बनाउन सबैको सहकार्य र कृयाशिलतामा मात्र सम्वब हुने भएकोले अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो । अबका ४ महिनामा आगलागीका घटना धेरै हुने गर्छन् त्यसको लागि पुर्व तयारीमा जुट्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “सकेसम्म आगो लाग्नै नदिने लागिहाल्यो भने आगोलाई सानोमै नियन्त्रणमा लिने पर्यास गर्नुपर्नेमा पहल गरौं ।”
आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि, बन उपभोक्ता समिति लगाएत सबै समुदायले आगलागीका घटना हुन नदिन काम गर्नुपर्ने बताउनुभयो झिमरुक गाउँपालिकामा करिब ४६ % बन क्षेत्रले ढाकेको छ। पालिका भित्रका ३, ५ र ७ वडाका विभिन्न बन क्षेत्रमा निकै बढी जोखिममा रहेकोले जनताले सचेतता अपनाउनुपर्ने बताउनुभयो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले आगलागी लगाएत घटना पछि राहत तथा सहयोगमा ढिलासुस्ती र पीडितले दु:ख पाउने गरेको भन्दै सहज रुपमा सेवादिन अनुरोध गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपेश बस्याल, सशस्त्र प्रहरी प्रमुख डिएसपी रोहित बहादुर घिमिरे, राष्ट्रिय अनुसन्धान अधिकृत सन्दीप कुमार चौधरी, गाउँपालिकाका सबै वडा अध्यक्ष, सुरक्षा समिति, बन डिभिजन कार्यालय, बनसंग सम्बन्धि उपभोक्ता समितिहरुको सहभागीता रहेको थियोे । आइतबार भएको कार्यक्रमको सहजीकरण झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले गर्नुभएको थियो ।






S.K. Creative Media Group