बिरेन्द्र गिरी, रोल्पा । नेपाल मगर संघ रोल्पाको बाह्रौँ जिल्ला अधिवेशन लिवाङस्थित रेडियो जलजलाको सभाहलमा सम्पन्न भएको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाका अध्यक्ष देउकला कुमारी घर्तीमगरको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सुनछहरी गाउँपालिकाका अध्यक्ष एवं नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष धनबहादुर पुन मगरले मगर समुदायको हक–अधिकार, पहिचान र संस्कृतिको संरक्षणका लागि संघले निरन्तर भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले मगर समुदायको मौलिक संस्कार, संस्कृति र परम्परालाई भावी पुस्तासम्म जोगाएर लैजान सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्ती तथा नेपाल मगर संघ केन्द्रीय समिति सदस्य प्रशान्त घर्ती मगरको उपस्थिति रहेको थियो। वक्ताहरूले मगर समुदायको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा संघको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए।

अधिवेशनमा आदिवासी जनजाति महासंघ रोल्पाका उपाध्यक्ष मिसाना घर्तीमगर, सल्लाहकारहरू डि.वि. घर्ती मगर, खेम बुढा मगर, कुम पुन मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। नेपाल मगर संघ रोल्पाका सह–सचिव नर बहादुर बुढामगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव स्मृति रोका मगरले गर्नुभएको थियो।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी दिनमा मगर समुदायको पहिचान, अधिकार तथा संस्कृतिको संरक्षणका लागि अझ सशक्त रूपमा अघि बढ्ने निष्कर्ष निकालेको छ। अधिवेशनबाट देउकला कुमारी घर्तीमगर अध्यक्षमा चयन हुनुभएको छ भने उपाध्यक्षमा चन्द्रावती पुनमगर, हितपुरा पुनमगर र हुम बहादुर घर्तीमगर चयन हुनुभएको छ। सचिवमा नर बहादुर बुढामगर, सह–सचिवमा गणेश रोकामगर र कोषाध्यक्षमा गरिमा घर्तीमगर चयन हुनुभएको छ।

यस्तै सदस्यहरूमा नौमता घर्तीमगर, रेजिना पुनमगर, कमल घर्तीमगर, जुनपुरा बुढामगर, राम बहादुर घर्तीमगर, कामना रोकामगर, आरती रोकामगर, दुर्गा घर्तीमगर, इन्द्र कुमार घर्तीमगर, पूर्ण बहादुर बुढामगर र उमा रोकामगर चयन हुनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय