प्यूठान । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा निर्वाचन तयारीलाई तीव्र बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय सहितको सुरक्षा निकायले निर्वाचन तयारीको काम तीव्र रुपमा गरिरहेको जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा आयोजित सर्वदलिय सर्वपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी शान्ति राज प्रसाईंले निर्वाचनलाई शान्तिपूर्ण, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सक्रियतापूर्वक काम गरिरहेको बताउनुभयो । उहाँले जिल्लामा आवश्यक पर्ने सुरक्षाकर्मीको व्यवस्थापन, कर्मचारी व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम लगायतका काम सम्पन्न भइसकेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रसाईंले फागुन १८ गते सवै मतदान केन्द्रमा सुरक्षाकर्मी सहितको मतदान सामाग्री र कर्मचारी पुगिसक्ने बताउनुभयो ।

निर्वाचनकै समयमा होलि पर्व परेकोले होलिलाई शान्तीपूर्ण तरिकाले मनाउनका लागि समेत उहाँले सवैलाई आग्रह गर्नुभएको छ । होलिमा राजनीतिक गतिविधि नगर्न समेत आग्रह गर्नुभएको छ ।

सातै बजे मतदान शुरु गर्ने तयारी
फागुन २१ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचनको समय तय गरिएको छ । प्यूठानका सवै मतदान केन्द्रमा ठिक ७ बजे नै मतदान शुरु गर्ने गरि तयारी गर्न मतदान अधिकृतलाई निर्देशन गरिएको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताउनुभयो । त्यसका लागि राजनीतिक दलका प्रतिनिधिलाई मतदान केन्द्रमा समयमै पुग्नका लागि सहजीकरण गरिदिन राजनीतिक दललाई आग्रह समेत गर्नुभयो ।

समयमै मतपेटिका संकलन गर्ने लक्ष्य
मुख्य निर्वाचन अधिकृतको कार्यालयले समयमै निर्वाचन सम्पन्न गरेर समयमै मतपेटिका ढुवानी गर्ने कार्ययोजना बनाएको छ । सोही दिन राती १० बजेसम्म सदरमुकाम खलंगामा मतपेटिका ल्याउने तयारी छ । त्यसका लागि यातायातको साधनको व्यवस्थापनमा कार्यालय जुटेको छ । मतपेटिका संकलन भएपछि भोलिपल्ट विहान सर्वदलिय बैठक बसेर गणना शुरु गरिनेछ । मत गणना जिल्ला समन्वय समितिमा गर्ने तयारी छ । मतगणना स्थल निर्माणको काम शुरु भएको मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय