
प्युठान । झिमरुक गाउँपालिकाले बिरुवा उत्पादन गर्न नर्सरी निर्माणको काम थालनी गरेको छ । झिमरुक-५, मच्छी स्थित सेवा केन्द्रको जग्गामा भिरालो जग्गालाई सम्याउदै गहरा निर्माण गरि नर्सरी निर्माण गर्न लागिएको हो ।
प्युठानको उत्तरी पुर्बी झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रका किसानलाई आयआर्जनसँग जोडेर लैजाने उदेश्यले नर्सरी निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । आगामी सिजनदेखी यस् क्षेत्रमा रहेका किसानले मच्छिमा बन्न लागेको नर्सरीबाट आवस्यक बिरुवा पाउने गरि कार्य अगाडि बढाइएको अध्यक्ष एमसीले जानकारी दिनुभयो । यस क्षेत्रमा नर्सरी नहुदा किसानलाई जिल्लामा गएर बिरुवा लिने झन्झट भएको भन्दै जिल्ला बन कार्यालय र झिमरुक गाउँपालिकाको समन्वयमा काम अगाडि बढेको उहाँले बताउनुभयो । नर्सरी निर्माण भएपनि यस क्षेत्रका किसानले बिरुवाको लागि जिल्ला पुग्नुपर्ने समस्या हटेर जाने बताउनुभयो ।
अहिले नर्सरीको काममा गाउँपालिकाले बजेट ब्यवस्था गरेको छ। झिमरुक सब डिभिजन बन कार्यालयका बन अधिकृत कमल प्रसाद पुनले भन्नुभयो, “निर्माणको काम सकिएपछि बिरुवा उत्पादनको काम हामिले यसै वर्षबाट सुरु गर्ने तयारीमा छौं ।” उहाँका अनुसार अहिले कुन कुन बिरुवा यो क्षेत्रमा राम्रो उत्पादन हुने गर्छ, सर्वेक्षण गर्दै छौ । त्यस्को आधारमा बिरुवा उत्पादन गर्ने र किसानलाई वितरण गर्ने बन अधिकृत पुनले बताउनुभयो । निर्माण हुन लागेको नर्सरीमा करिब ३० हजार बिरुवा उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । तत्कालको लागि अमला, दालचीनी, टिमुर, सुन्तला र कमला जातका बिरुवालाई उत्पादन गर्ने तयारी रहेको बन अधिकृत पुनले जानकारी दिनु भयो । नर्सरी बनाउने जग्गा अभावमा बिरुवा उत्पादन गर्न सकिएको थिएन। उहाँले भन्नुभयो, “पालिकाले जग्गा निर्माण गरिदिएपछी तत्काल बिरुवा उत्पादन गर्न बन कार्यालयले काम थाल्ने बताउनुभयो ।”
सोमबार गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही, बन अधिकृत कमल प्रसाद पुन, वडा नम्बर १ र ८ का वडा अध्यक्ष धुर्वराज खनाल र तुलस बहादुर बस्नेत लगाएतले निर्माणाधीन नर्सरीको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।