प्युठान । जिल्लाका किसानलाई कृषि यान्त्रिकिकरण मर्मत
सम्भार एवं संचालन सम्बन्धि तालिम दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्युठानले किसानलाई ३ दिनसम्म प्रयोगात्मक तालिम दिएको हो ।
तालिमपछि सहभागी कुल बहादुर सुनारले भन्नुभयो, “बारीमा जोत्दा जोत्दै ट्याक्टर बिगिर्न्थ्यो, यहाँ आएपछि सामान्य मर्मत गर्नसक्ने ज्ञान पाईयो ।” उहाँले कार्यालयले बेला बेलामा यो प्रकारको तालिम दिनुपर्ने बताउनुभयो ।
तरकारी जोन संचालक समितिका अध्यक्ष लोकराज पोख्रेलले
अहिले गोरुबाट जोत्ने काम कम हुदै गएको र मेसिन प्रयोग बढ्दै गएको अवस्थामा यो तालिम आवश्यक रहेको बताउनुभयो ।
कृषिसंग सम्बन्धित मेसिन औजार गाउँमा पुगेको र मर्मत गर्न बजार ल्याउदा दु:ख हुने भएकाले तालिमपछि आफ्नै ठाउँमा मर्मत गर्न सके कम खर्चिलो हुने बताउनुभयो ।
धान जोन संचालक समितिका संयोजक श्याम थापाले
कृषिको आधुनिककीकरणका लागि यान्त्रिकरण आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन आवश्यक रहेको र त्यसमा युवाहरू जोडिन आवश्यक रहेको बताउनुभयो ।
समापन कार्यक्रममाएकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालयका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठ
जिल्लामा आवश्यक तालिम संचालन भएकोमा खुशी व्यक्त गर्नुभयो । आगामी दिनमा कार्यालयले तालिम संचालन गर्न योजना बनाउने जानकारी गराउनुभयो ।
परियोजना प्रमुख चुमानसिंह गिरीले तालिमले मेसिनमा देखा पर्ने समस्या बुझ्न सक्ने ज्ञान सहभागीले हासिल गरेकोले सामान्य समस्या आफैले समाधान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिम्लिएका किसानले आफ्नो समुदाय नजिकका किसानको समस्या समेत समाधान गर्ने अपेक्षा गर्नुभयो ।
तालिमको प्रशिक्षक राम बहादुर केसी, श्रवण गुप्ता र बिक्रम पाण्डे रहनुभएको थियो । कार्यक्रमको सन्चालन बिपिन खड्काले गर्नुभएको थियो ।