तुलसीपुर । मानव सेवा आश्रमको भवन निर्माणार्थ तुलसीपुरमा भइरहेको महायज्ञको चौथो दिनमा आज २५ लाख बढि आर्थिक संकलन भएको छ । मंगलबार महायज्ञमा विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी २५ लाख २२ हजार ९ सय ९९ रुपैयाँ मानव सेवा आश्रमको भवन निर्माणार्थ आर्थिक सहयोग जुटेको हो।
महायज्ञमा आज सबैभन्दा बढि हमाल परिवारले दान दिनु भएको छ। तुलसीपुरका प्रतिष्ठित व्यवसायी सुरेश हमालको परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको महायज्ञ आयोजकले जनाएको छ।
त्यसै तुलसीपुर उपमहानगरपालिका-५ निवासी हाल अमेरिका बस्दै आउनु भएका रविन्द्रकुमार धिताल र अर्चना धितालले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ। तुलसीपुरका रञ्जन गौतमको परिवारले ५६ हजार ६ सय ५६ रुपैयाँ, बिजौरी बस्ने मोहन घर्तीको परिवारले ५१ हजार १सय ११ रुपैयाँ र राप्ती यातायात सेवा प्रालिले ५५ हजार ५ सय ५५ रुपैयाँ महायज्ञमा दान दिनुभएको छ।
महायज्ञमा आर्थिक सहयोग गर्नेमा टोल विकास संस्था, महिला समुह, वन उपभोक्ता समुह, सहकारी संस्था लगायतका संस्थाहरु रहेका छन् । महायज्ञमा आजपनि भक्तजनहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कथा वाचक भास्कर कोमलनयन गौतमले महाभारत र शिवपार्वतीको कथा वाचन गर्नुभएको थियो । उक्त कथा बाचन सुनेर बालक देखि बृद्धहरु मन्त्रमुग्ध बनेका थिए । भक्तजनहरु महायज्ञ स्थलको खुला चउरमा बसेर कथा र भजनमा झुमेका थिए । कथा वाचन प्रत्येक दिन बिहान ११ देखि अपरान्ह् ४ बजेसम्म हुँदै आएको छ।