काठमाडौं । सांसद सूूर्यबहादुर थापाले प्यूठान जिल्लाका भौतिक पूर्वाधार र विकास निर्माणका योजनालाई आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेशका लागि अनुरोध गर्नुभएको छ । सांसद थापाले प्रधानमन्त्री के.पी. शर्मा ओली समक्ष विभिन्न योजनाका लागि बजेट प्राथमिकता दिन माग गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा प्युुठानबाट निर्वाचित सांसद थापाले भालुवाङ–प्यूठान, बाग्दुुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्ग लगायत योजनाका लागि ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद थापाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका, भालुवाङबाट प्युुठान जिल्ला सदरमुकाम जोड्ने भालुवाङ–प्यूठान मोटरबाटोलाई चकचके–भिङ्गृ–लिबाङ एवं चकचके खलङ्गासम्म दुवै खण्डलाई एउटै सङ्केत नम्बर कायम गर्न आग्रह गर्नुभएको छ । यो सडकलाई दुुई लेनमा स्तरोन्नित गरी राष्ट्रिय राजमार्गमा समावेश हुन छुट भएकाले अविलम्ब समेट्नुपर्नेमा उहाँको जोड थियो ।
सांसद थापाले विगत १० वर्षदेखि स्रोत सुनिश्चित भई ठेक्का लागेर पनि निर्माण अलपत्र परेको बाग्दुुला–भीमगिठे सडक अन्तर्गत निर्धारित बाग्दुुला–मच्छी–ठूलाबेँसी–भीमगिठे सडकको नयाँ ठेक्का अविलम्ब लगाउन माग गर्नुभयो ।
यसैगरी, मदनभण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत सौतामारे–मच्छी खण्ड ठेक्का लागेर काम भइरहेकामा द्रुतगतिमा निर्माण हुनुुपर्ने, गोखुुङ्गा–बाग्दुुला खण्डका वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले ठेक्का लगाउनुुपर्ने सांसद थापाको जोड थियो ।
प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत मागपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सहरी विकास मन्त्रालय अन्तर्गत पक्की पुल र जिल्लामा विभिन्न स्थानीय तहका गरी दुुई हजार ३७७ सुरक्षित नागरिक आवास कार्यक्रमका योजना, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय, अर्थ मन्त्रालय अन्तर्गत सात क्रमागत योजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत स्वर्गद्वारी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्नेगरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय योजना आयोगका समपूरक तथा विशेष अनुदानका आठ योजना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत चार योजना, खानेपानी मन्त्रालय अन्तर्गत १४ योजना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत १० योजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत प्युुठान नगरपालिकामा बृहत् प्रदर्शनीस्थल निर्माण, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत दुई योजनाका लागि सांसद थापाले प्रधानमन्त्री मार्फत बजेट माग गर्नुभएको छ ।



S.K. Creative Media Group