अर्घाखाँची । भगवती माध्यमिक विद्यालय कुर, शंखेटारीमा गुणस्तरीय, बालमैत्री आधारभूत शिक्षा र डिजिटल सिकाई सम्वन्धि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगत सन्धिखर्क नगर पालिका द्वारा संचालित एकदिने कार्यक्रममा सम्पन्न भएको हो । अभिभावकहरुलाई बालमैत्री, गुणस्तरीय शिक्षा र डिजिटल सिकाईको बारेमा तालिम प्रदान गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्यले शैक्षिक गुणस्तर बृद्धिको निम्ति सरोकारवाला पक्षले विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भयो । उहाँले अबको शिक्षा बालमैत्री र डिजिटल प्रविधिमा आधारित हुने भन्दै यस क्षेत्रमा आबद्ध सबैले आफुलाई नयाँ प्रविधिमा जोडेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । आचार्यले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल आउन नसकेको भन्दै , यस प्रति सबै सचेत हुनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीको पहिलो पाठशाला घर परिवार भएको भन्दै आफ्ना छोराछोरी प्रतिको कर्तव्यबोध बारे अभिभावकको ध्यानाकर्षण गराउनुभयो ।
विद्यालयका अभिभावक विष्णु जिएमको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्राविधिक सहायक विन्दु पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा भगवती माध्यमिक विद्यालय कुर, शंखेटारीका प्रधानाध्यापक ध्रुवबहादुर खत्री, शिक्षक शोभाखर पन्थी लगायतले मन्तव्य राख्नु भएको थियो ।



S.K. Creative Media Group