सरद बिष्ट
समुन्द्रसतह देखि माथि झण्डै ७००० फीटको उचाईमा हरियो तथा सुन्दर लोभलाग्दो डाडोको सेरोफेरोमा देशकै चर्चित पबित्र धार्मिकस्थल स्वर्गद्धारीको मन्दिर छ । त्यही मन्दिरको तल फेदीमा स्वर्गद्धारी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा गौरबपूर्ण इतिहास बोकेको नगरकै सबैभन्दा ठुलो र पुरानो अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र, भिंग्री जो कसैले पनि देख्न र भिजिट गर्न सक्छ । यहि अस्पतालभित्र बिरामीको सेवामा दिनरात खटिरहने उनै मेहेनति मेडिकल अधिकृत डा. बिनोद पौडेललाई बिरामीले भेट्नसाथ आधा रोग त्यसै निको भएको आभास र अनुभुति गर्दथे ।
हालको गण्डकी प्रदेशको कुश्मा नगरपालिका वडा नं.–२, कुश्मा पर्वतमा बुबा नरेश शर्मा र आमा ज्ञान कुमारीको कोखबाट एक सुपुत्रको रुपमा बि.स. २०५१ चैत्र १५ गते जन्म लिनु भएका डाक्टर पौडेलका बुबा पहिले बैदेशिक रोजगारको सिलसिलामा भारत र त्यसपछि केहि वर्ष साउदीअरबमा समय बिताउनु भएको थियो । हुनत, नेपाल धेरैजसो भूभाग पहाडै पहाडको भू–बनोटको संरचनाले गर्दा प्राय गरेर यहाँका अधिकांश मासिनसहरु कृषि र पशुपालन पेशामा नै आधारित छन् । डा. पौडेलको परिवार पनि उहाँ बाहेक सबै अहिले कृषि पेशामा नै संलग्न छन् ।
बालापनको स्वभाव अलि चञ्चल भएतापनि डा.विनोद पौडेल सानोमा निकै मेहेनेति ,लगनशील र अध्ययनशील हुनुहुन्थ्यो । घर नजिकैको बोर्डिङ्ग स्कुलबाट कक्षा ६ सम्मको पढाई र त्यसपछि गाँउकै श्री हिमालय उच्च मा.वि.बाट बि.स.२०६७ सालमा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एस.एल.सी. परीक्षामा ८६ प्रतिशत अङ्क प्राप्त गरि सरकारी विद्यालयको तर्फवाट तत्कालिन धौलागिरी अञ्चल प्रथम हुनु भएको थियो । उच्च शिक्षाको लागि काठमाण्डौंमा नै पढ्ने निधो गरेका डा.पौडेलले तत्कालिन समयमा काठमाण्डौंको प्रतिष्ठित सेन्ट जेभिर्यस कलेजमा जम्मा ५०४ जना बिद्यार्थीहरुमा आफू छनोट भएको तर आर्थिक समस्याकै कारणले गर्दा कलेजमा पढ्न सक्नु भएन । त्यसपछि काठमाण्डौमा अवस्थित नेपाल मेगा कलेजमा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाउदा धेरै राहत भएको थियो । बि.स.२०६९ सालमा नेपाल सरकारको शिक्षा मन्त्रालयको छात्रवृत्तिकोटामा छनोट भई चितवन स्थित मेडिकल कलेजबाट पौडेलले एमविविएस पढाई सुरु गर्नु भएको थियो । एमविविएस अध्ययन गर्ने बेलामा नै डा.पौडेलले चितवनमा तयारी कक्षाहरुमा अध्यापन गर्नुहुन्थ्यो । जस्को कारणले गर्दा पर्वतमा बसेका बा–आमालाई खर्च पठाउन पर्दैनथ्यो । उहाँले एमविविएस पछि पनि अ.हे.व. र अ.न.मि. अध्ययन गर्ने विद्यार्थीहरुलाई बिभिन्न इन्स्टििच्युटमा गएर अध्यापन गर्नुहुन्थ्यो ।
‘हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खर्सो पात’ बुढापाकाको उखान झै डा.पौैडेलको पढाई सानैदेखि नै तिखो दिमागको थियो । बि.स. २०७९ सालमा भएको नेपाल पुलिसको प्राविधिक प्रहरी निरीक्षक पद (इनिस्पेक्टर) मा एक नम्बरमा सिफारिस भएता पनि त्यो फिल्डमा जाँगिर रोज्नु भएन् । त्यसैले २०७९ सालमा भएको लोक सेवा आयोगको मेडिकल अधिकृत परीक्षामा दुई नम्बरमा सिफारिस हुनु भएको थियो । विभिन्न मिडियामा उहाँको आफ्नै १० ओटा जति शोधपत्र प्रकाशन भइसकेका छन् । सबै सोध पत्र चिकित्सा शिक्षा सँगै सम्बन्धित छन् । त्यस मध्य एउटा कोभिडको भ्याक्सिन लगाएपछिको इफेक्ट सम्बन्धीको सोधपत्र अन्तराष्ट्रिय जर्नलमा प्रकाशित भईसकेको छ ।
डा. पौडेलको भलिवल खेल्ने, क्रिकेट र फुटवल खेल्ने, कविता लेख्ने, अहिले पनि आफ्ना रुचि र रहरका विषयहरु हुन् । अनि फुर्सदमा महान व्यक्तिहरुको जीवनी पढेर आफूलाई पनि सत्कर्मको गोरेटोमा अगाडि बढ्ने प्रयत्न गर्नुहुन्छ । सायद चिकित्सा क्षेत्रमा लागेको हुनाले आफू जहाँ रहेतापनि देशका नागरिकलाई निरोगी र स्वस्थ राख्ने उहाँको मुल मन्त्र छ । सरकारी कोटामा अध्ययन गरेको हुनाले उहाँ एमविविएस अध्ययनपछि २ वर्ष छात्रवृत्ति करारमा काम गर्नको निम्ति सबैभन्दा पहिले स्याङ्जा वालिङ स्थित गहौं प्राथमिक अस्पतालमा नियुक्ति लिनु भएको थियो । जुनवेला देशैभर कोभिडको आतङ्क र महामारी डरलाग्दो रुपमा फैलिएको थियो । डा. पौडेलले आफ्नो ज्यानको कुनै प्रवाह नगरि जन्ताको जीउ धनको रक्षाको लागि फ्रन्ट लाइनमा काम गरेको अनुभव छ ।
मानिसहरु सपना देख्न जान्नुपर्छ । सपना देख्ने मानिसहरु मात्र सफलताको शिखर चुम्न सक्छन् । जसले सपना देख्दैन,सपना बुन्दैन र साकार गदैन् नि वास्तवमा ती मानिसहरुको जीवन प्राय गरेर अन्धकार नै हुन्छ । जीन्दगीलाई उज्यालोतर्फ अगाडि बढाउन सानो तिनो हिम्मत र साहसले पुग्दैन् । त्यसको लागि दृढ संकल्प र उद्धेश्य चाहिन्छ । यस्तै अदम्य साहस भएका व्यक्तिहरुको लिष्टमा पर्नुहुन्छ डा.पौडेल । स्याङजामा रहँदा करार अवधि समाप्त भएपछि डा.पौडेलले अब के गर्ने भन्ने विषयमा निकै दोधारमा हुनुहुन्थ्यो । मनमा उथुलपुथुल भावनाहरु पनि थिए । अब थप अध्ययनको लागि अमेरिका जसरी पनि जानुपर्छ भन्ने भावना जागृत भएपछि अमेरिकाको लागि परीक्षा दिनुभयो । बिभिन्न स्टेपका परीक्षाहरु पनि राम्रै भइरहेको थियो । तर त्यहि विचमा नेपालकै लोकसेवा तर्फको परीक्षामा सिफारिस हुनुभयो । र, नेपाल बस्ने निधो गर्नुभयो ।
चिकित्सा क्षेत्रमा स्थायी जाँगिर खाएपछि अमेरिका जाने योजना क्यान्सिल गर्नुभयो । व्यक्तिगत ईच्छा र रहर गर्दैमा सबै चिज पुग्दोरहेनछ, उहाँको बुझाई छ । पर्वतमा रहनुभएका बुढा बा–आमा र परिवारप्रतिको कर्तव्य र जिम्मेवारलाई बोध गर्दै अब जे गर्छु ,नेपालमा नै गर्छु भन्ने लक्ष्यका साथ स्थायी नियुक्त लिएर डा.पौडेल पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा प्रवेश गर्नुभएको थियो । त्यहाँ रहदा करिव ८ महिना इमरजेन्सि र आई.सि.यु. मा बसेर काम गर्ने राम्रो अवसर प्राप्त गर्नु भएको थियो । त्यसपछि उहाँ कामकाजको लागि भन्दै २०८० सालको को भाद्र महिनामा स्वर्गद्धारी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा हाजिर हुनुभएको थियो । झण्डै २० महिना भिंग्री बसाईमा मेडिकल अधिकृतको रुपमा कार्यरत रहँदा उहाँले प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीको मुहार बदल्न गर्नु भएको प्रयास यहाँ उल्लेख गरिएको छ ।
सशुल्क फार्मेसी
प्राथमिक स्वास्थ्य केन्द्र, भिंग्रीमा आउने जो कोही बिरामीहरुलाई नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधीको व्यवस्था स्वर्गद्धारी नगरपालिकाले गर्दथ्यो । स्वास्थ्य बिमाबाट उपलब्ध हुने औषधीहरु बिमा कोषबाट नै उपलब्ध हुन्थे । तर त्यो बाहेकका औषधीहरु आबश्यक परेको खण्डमा बिरामीलाई बाहिर पठाउनु पर्ने वाध्यात्मक अबस्था थियो । यो कुरा डा.बिनोद पौडेललाई पटक्कै मन परेको थिएन् । बिरामीलाई सस्तो मूल्यमा सःशुल्क तिरेर भएपनि औषधी किन्न बाहिर पठाउन हुदैन् भन्ने मान्यता थियो । तर, अस्पतालसँग प्रयाप्त बजेट थिएन् । उहाँ आउनु भन्दा पहिले संस्थाको कोषमा १० लाख मात्र थियो । त्यो रकम फार्मेसी सञ्चालनको लागि अपुग नै हुन्थ्यो । उहाँले आफ्नो कार्यकालमा हर हिसाव कितावलाई पारदर्शिता राख्दै जाँदा झण्डै १० महिनामा नै अस्पतालको कोषमा ६० लाख भन्दा बढी रकम जम्मा भईसकेको थियो । त्यसपछि उहाँमा आँट र हिम्मत आयो फलस्वरुप फार्मेशी व्यवस्थापन गर्न ठुलो सहयोग पुग्यो । अहिले यो फार्मेशी सेवा प्राथमिक स्वास्थ्य केन्द्र, भिंग्रीको परिसर भित्र दैनिक रुपमा सञ्चालनमा आएको छ । अहिले निजि तथा प्राईभेट फार्मेशी भन्दा धेरै नै सस्तो मुल्यमा विभिन्न रोगका विरामीहरुले यहाँवाट सेवा पाएका छन् । त्यसैगरि औषधीको खरिद प्रक्रिया पनि पारदर्शी बनाउनुपर्छ भनेर टेन्डर प्रकृयाबाट नै औषधी खरिदको कार्यलाई पनि सुरुवात गरियो । यो संस्थाको लागि भएको नविनतम प्रयास हो । यो समस्या समाधान गर्न डा. पौडेललाई धेरै मेहेनत गर्नु परेको थियो ।
एक्स–रे को समस्या
प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा एक्स–रे मेसिन भएतापनि प्रयोगमा आउन नसक्नु र पटक पटक बिग्रनु जस्ता प्राविधिक समस्याहरु थियो । बिरामीहरुलाई सामान्य एक्स–रे सेवा पनि उपलब्ध गराउन नसक्दा निजि संस्थामा पठाउनु पर्ने बाध्यात्मक अबस्था थियो । यो समस्यालाई सधैको लागि समाधान गर्न डा.पौडेलले स्वर्गद्धारी नगरपालिकालाई यो विषयमा ध्यानआकर्षण गराउनु भयो । स्वर्गद्धारी नगरपालिकाको पहलमा प्रदेश सरकार वाट एक्स–रे मेसिन पनि प्राप्त भयो । तर, समस्या पहिलेको जस्तै पो हुने हो कि भन्ने कुराले डा. पौडेललाई चिन्ता लाग्थ्यो । त्यसैले उहाँ नगरपालिका गएर यो मेसिन सञ्चालनको लागि रेडियोग्राफी सम्बन्धि नै जनशक्ति राख्नुपर्छ भन्ने सल्लाह पश्च्यात रेडियोग्राफर राखिएको छ । यो डा. पौडेलले गर्नु भएको राम्रो कार्य हो ।
भिडियो एक्स–रे को समस्या
लामो समयदेखि यस स्वास्थ्य संस्थानमा भिडियो एक्स–रे सेवा प्राय गरेर गर्भवती महिलाहरुको स्वास्थ्य चेक जाँचको लागि मात्र प्रयोग गरिन्थ्यो । अन्य पेटका रोगीहरुलाई यो सुविधा थिएन् । बिरामीलाई सामान्य पत्थरी भएपनि चेकजाँचको लागि निजिमा वा बुटवल वा दाङ्गसम्म पुग्नु पर्ने बाध्यता थियो । अब यो समस्यालाई पनि डा.पौडेलको आगमन भएपछि पेटसम्बन्धि भिडियो एक्स–रे स्क्रिनिङ्ग सेवा उहाँ अस्पताल प्रवेश गरेको केहि दिनदेखि नै सञ्चालनमा आएको थियो । यो सेवा सञ्चालनमा आएपछि पेटसम्बन्धीका सबै बिरामीहरुलाई निकै राहत महसुस भएको थियो ।
पोष्टमार्टम सेवाको समस्या
पोेष्टमार्टम नेपालीमा शव परीक्षण वा मृत्युपछि गरिने चिकित्सकीय परीक्षण हो । यो एक वैज्ञानिक प्रकृया हो जुन कुनै व्यक्तिको मृत्युपछि गरिन्छ । विशेष गरी जव मृत्युको कारण स्पष्ट हुदैन तब मृत्युको कारण पत्ता लगाउन र कानुनी प्रमाणहरु संकलन गर्नको लागि पनि पोष्टमार्टम आबश्यक हुन्छ । भिंग्रीमा पोष्टमार्टम सेवा कहिले हुने र कहिले नहुने र कारणवस कसैको रहस्मय मृत्यु भएमा पोष्टमार्टम गर्नको लागि विजुवार लग्नुपर्ने अवस्था थियो । डा.पौडेलको आगमन भएपछि पोष्टमार्टम सेवालाई निरन्तरता र निःशुल्क सेवा दिने व्यवस्था गर्नुभयो । जसले गर्दा दुःख को वेला मृतकको घर परिवारलाईलाई ठुलो राहत प्रदान गरेको छ ।
ल्याब सेवामा विस्तार
अस्पतालको ल्यावमा धेरै सुविधा त पहिले पनि थिए । तर पनि विरामीहरु विहान विहान खालि पेटको सुगर जाँच गर्न भनि निजि संस्था जानु पर्ने वाध्यता थियो । त्यसपछि फेरि ल्यावमा विरामीको चापलाई मध्यनजर गरेर नयाँ जनशक्ति थप गर्न नगरपालिकावाट सहयोग लिएर, हाल विरामीलाई विहान ७ वजे देखि नै ल्याव सुविधा लिने व्यवस्था मिलाईएको छ । यसले गर्दा विरामीहरु वाहिर निजी संस्थामा जानु पर्ने वाध्यता हटेको छ । अर्को कुरा, ल्याववाट दिने रिपोर्ट लाई अलि विश्वसनिय वनाउनको लागि अस्पतालमा उपलव्ध सफट्वयर वाट नै प्रिन्ट दिने व्यवस्था मिलाइएको छ ।
ल्यावमा नुनको मात्रको जाँच, सुगरको जाँच, नेपालका कमै प्राथमिक स्वास्थ्य केन्द्र्र्मा उपलव्ध छन । जुन कुरा हामीले स्वास्थ्य सेवा विभागमा पहल गरेर नयाँ मेसिन ल्याएर हाम्रो संस्थावाट उपलव्ध गराएका छौँ । अझै पनि थाइरोइडको जाँचको लागि भने हामिले सुरुवात गर्न सकेका छैनौ । यो पनि निकट भविष्यमा नै गर्न सकिन डा. पौडेलको सुझाव छ ।
अस्पतालमा शौचालयको समस्या
यस अस्पलालमा लामो समयदेखि स्वास्थ्य संस्थाको शौचालय जिर्ण अवस्थामा थियो । विरामीहरुले पनि असहज महशुस गर्नु भएको थियो । यसको लागि वजेट व्यवस्थापन कतै वाट सम्भव भएन । अस्पतालले आफ्नै स्रोत वलियो वनाएर आफैँ नयाँ शौचालय स्थापना गरेको छ । अहिले यो शौचालयमा कुनै समस्या छैन । अस्पतालमा विरामीहरुको चाप वढ्दै गएपछि, विरामी वस्ने व्यवस्था पनि रामो थिएन सुरु सुरुमा । विरामीले नाम दर्ता गर्ने ठाउँ हरु वाहिर सारियो, निःशुल्क र स–शुल्कको फार्मेशीको काउन्टर फरक फरक बने जसले गर्दा यो समस्या पनि समाधान भयो । यो कार्यको योजना बनाउनमा डा.पौडेल र उहाँको टिमको खटनपटन धेरै छ ।
भिंग्री अस्पतालको सवल पक्षहरु र सुधार गर्नुपर्ने उपायहरु
डा. पौडेलको धारणा अनुसार, प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा काम गर्ने ठाउँको वातावरण असाध्यै राम्रो छ । अस्पतालका कर्मचारीहरु साहै्र मेहेनति हुनुहुन्छ । अस्पताल व्यवस्थापन समितिको पदाधिकारीहरुवाट पनि राम्रो कामको लागि सधैँ सहयोग भइरहन्छ । स्वर्गद्धारी नगरपालिकाको विशेष गरेर स्वास्थ्य शाखाले प्रा.स्वा.के.प्रति सदैब सकरात्मक भाव देखाउने भएकोले अस्पतालको स्तर उन्नति पनि बढ्दै गएको सबैलाई सर्बबिदितै छ । अहिले सेवा दिइरहेको अस्पताल नजिकै १५ शैयाको एक भब्य अस्पताल बन्दैछ । यो नगरवासीको लागि निकै खुशीको कुरा हो ।
अहिले अस्पतालमा विरामीहरुको. चाँप बढेसँगै विरामीहरुले ३ वजे पछि पनि वहिरँग सेवा लिन पाउने व्यवस्था मिलाउन सक्ने हो भने सुनमा सुगन्ध हुनेथियो । तर, यो व्यवस्था मिलाउनको लागि अस्पताललाई कम्तिमा पनि ३ वा ४ जना डाक्टरको आवश्यकता पर्छ, जो अस्पतालसँग त्यो प्रकारको दक्ष जनशक्ति छैन् । डाक्टरको व्यवस्थापनमा स्थानिय सरकारले संघिय सरकारसँग पहल गरेर छात्रवृत्ति करारको डाक्टरहरु जति पनि ल्याउन सकिन्छ, त्यसको निम्ति पहल गर्न सक्ने हो भने मात्रै यो समस्याको समाधान हुन्छ ।
अस्पतालमा अहिले पनि यहाँ दाँतको उपचारको लागि विरामीलाई अन्य संस्था पठाउनु पर्ने वाध्यता छ । यसको समाधानको लागि दाँत सम्वन्धि अध्ययन गरेको डाक्टर ल्याउने पहल गर्ने हो भने यो समस्या पनि समाधान हुन्छ । प्रा.स्वा.के.को आफ्नै प्रशासनिक तथा लेखाको कर्मचारी नहुँदा, अस्पतालकै स्टाफ साथीहरुले नै त्यसैको जिम्मेवारी वहन गर्नु परेको छ । सम्वन्धित विषयमा ज्ञान भएको व्यक्तिको व्यवस्थापन गर्न सकेमा अझै सेवा सुविधाहरु चुस्त दुरुस्त र पार्दर्शिता हुने डा.पौडेलको जिकिर छ ।
भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रको बसाईमा धेरै विरामीमाझ निकै लोकप्रिय भएका डा. बिनोद पौडेल गत साल विवाह बन्धनमा पनि बाँधिनु भएको छ । उहाँको जिवनसंगीनी रचना सुबेदी पनि चिकित्सा क्षेत्रको प्रभावशाली एमविविएस डाक्टर हुनुहुन्छ । डा. पौडेल अव चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसमा एम.डी. ईन्टरनल मेडिसिन विषयको अध्ययनको लागि जाँदै हुनुहुन्छ । हाल उहाँको सरुवा पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा भइसकेको छ भने उहाँको सम्मानमा एक साता पहिले भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र र स्वर्गद्धारी नगरपालिकाले एक भव्य समारोहविच विदाई तथा फेरि भेटौंला कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।



S.K. Creative Media Group