प्यूठान । जिल्लामा दूध, माछा, मासु व्यवसायिसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय खलंगाको आयोजना र प्यूठान उद्योग बाणिज्य संघको समन्वयमा  जिल्लामा डेरी, माछा, मासु पसल संचालन गर्दै आएका व्यवसायी र सरोकारवाला बीच अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

बाग्दुलामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले उपभोक्ता हकहित सम्बन्धि नीति, नियम, कानुन, दण्ड जरिवाना लगायत्को बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पशु बिकास अधिकृत  डा. गणेश बहादुर पुनले जिल्लामा डेरी, मासु, माछा पसलको मापदण्ड र जिल्लाको बर्तमानअवस्था बारे कार्यपत्र प्रस्तुत गर्नुभयो भने, प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष संदेश आचार्यले व्यवसायले गर्दै आएको आफ्नो व्यवसायको आधिकारिक दर्ता, नवीकरण र अन्य संघले गर्दै आएको नियमित कार्यको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगिले डेरी, माछा, मासु पसल भौतिक पुर्वाधारसंगै सरसफाइ र व्यस्थित बनाउदै जानुपर्ने बताउनुभयो । जिल्लामा मापदण्डअनुसार पसल संचालन गर्न व्यवसायीलाई मेयर योगीले आग्रह गर्नुभयो । अनुगमनको क्रममा संबेदनसिल पसलहरु न्युनतम कानुनी मापदण्डको परिपालना नगरेको पाइएमा कडाइ गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेपालले बजारमा लेभल नभएका खाद्य बस्तुहरुलाई बिक्रीवितरण गरेको पाइएमा  कडाइ गरिने बताउनुभयो । इजाजत पत्र, पसलको नवीकरण, डेरी, माछा, मासु पसल मापदणड अनुसार बनाउन व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो । चेकजाँच नगराई पशु बध गराउन नपाइने कानुनी व्यवस्था भएकोले बध गर्नु अगाडि सम्बन्धित विशेषज्ञलाई चेकजाँच गराउनुपर्ने बताउनुभयो । उहाँले गुणस्तर निर्धारण गर्ने, सरसामानमा ध्यान दिन समेत अनुरोध गर्नुभयो । यस्ता मानिससँग दैनिक प्रत्येक्ष जोडिएका तथा स्वास्थ्यको हिसाबले संबेदनसिल मानिएका दुध, माछा, मासुको बिक्रीवितरण गर्दा कानुनी मापदण्ड पूरा गरेरमात्र गर्नुपर्ने बताउनुभयो ।

पशु बिकास अधिकृत  डा. गणेश बहादुर पुनले पशु बध गरेको स्थान देखि ४५ मिनेट भित्र डि फ्रीजमा राखिसकेको हुनुपर्ने बताउनुभयो । “बध गर्दा मापदण्ड पूरा गरेको हुनुपर्छ ।” उहाँले भन्नुभयो, “टोपी, एप्रोन, ग्लोव, माक्र्स  प्रयोग गरिएपनी ती प्रयोग गरिएका सामाग्री सफा छैनन् ।” त्यसैले व्यसायीले पसल दैनिकरुपमा सरफाइमा ध्यानदिनुपर्ने बताउनुभयो । बधशालामा काम गर्ने ब्यक्ति वा व्यवसायीले कम्तीमा ६/६ महिनामा आफ्नो स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र समेत राख्नुपर्ने बताउनुभयो ।

उहाँले खसी, बोका, बाख्रा, कुखुरा, आदि एउटै ठाउँमा बध गरेर बिक्रीवितरण गर्न नपाईने जानकारी दिनुभयो । त्यसको लागि छुट्टाछुट्टै ब्यवस्थापन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख बिनोद शर्माको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्युठान नगरपालिकाका मेयर विष्णु योगी प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको कार्यक्रममा  विशेष आतिथ्यता थियो ।

कार्यक्रममा व्यवसायी दिन बहादुर जिसी, केशव केसी लगायतले व्यवसायीका समस्याको बारेमा बोल्नुभएको थियो भने कार्यक्रमको संचालन पशु प्राविधिक भरत गिरीले गर्नुभएको थियो । जिल्लाभरका मासु, डेरी, पसल माछा पसल लगायतका  ४५ जना व्यसायीहरुले कार्यक्रममा सहभागीता रहेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय