प्यूठान । झिमरुक गाउँपालिकामा खानेपानी तथा सरसफाइलाई दिगो व्यवस्थापनको लागि अभिमुखीकरण गरिएको छ । आइतबार झिमरुक गाउँपालिकाको आयोजनामा सरोकारवाला बीच अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको सभाहल मच्छिमा भएको कार्यक्रममा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्यक्रमलाई कसरी जनमुखी बनाउने, खानेपानी योजनाको निर्माण प्रक्रिया, बजेट व्यवस्थापन, योजना छनोट प्रक्रिया, सुरक्षीत खानेपानी युक्त घोषणा प्रक्रिया, समुदायमा पुर्ण सरसफाइ गर्नको लागि आवस्यक सुचक, तीन तहका सरकारहरुको बीचमा खानेपानी सरसफाइ स्वच्छता, सुशासन, राष्ट्रिय ऎनले निर्दिष्ट गरेका वासका तीन तहका क्षेत्राधिकर लगायतका बिषयमा गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश प्रदेश समन्वय अधिकृत रबिन गौतमले सहजीकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रेले नीति नियम ऎन नियम राम्रो भएरमात्र नहुने बताउनुभयो । “सबै कुरा राम्रो हुन ऐन नियम मात्र राम्रो भएर हुँदैन,” उहाँले भन्नुभयो, “त्यसको लागि बजेट पर्याप्त हुनुपर्छ ।” तर स्थानीय तहमा बजेट साघुरो घेरामा रहेकोले जनताका समस्या समाधान गर्न समस्या भएको उहाँले बताउनुभयो ।
ग्रामिण बस्तीमा स्वच्छ खानेपानी व्यवस्थापन गर्न सबै सरकारको सहकार्य जरुरी रहेको बताउनुभयो । तीन तहका सरकार बिच कतिपय कानुनी जटिलता भएकोले संघ, प्रदेश सरकारले आवस्यक ऐन कानुन निर्माणमा चासो दिन समेत आग्रह गर्नुभयो । स्थानीय तहले निर्वाहमुखी होइन परिणाममुखी योजना बनाउन पहल गरिरहेको बनाउनुभयो ।
बिद्यालयमा स्वस्थ पानीको व्यवस्था गरिएको भएपनि ग्रामीण भेगमा अहिले पनि करिब ५ प्रतिशत मानिसले गाग्रोमा पानी बोक्ने बाध्यता हटान नसकिएको बताउनुभयो । खानेपानी तथा सरसफाई ग्रामीण बस्तिमा हिजोको अवस्था कस्तो थियो, आजको अवस्था यस्तो छ र भोलि कस्तो बनाउने भन्नेमा नै सरकारले काम गरिएको अध्यक्ष एमसीले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जनताको जिवनस्तर उकास्ने गरि बलियो बनाउन आयआर्जनमुखी कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । जनतालाई आय आर्जनसँग जोडेर लैजानु नै दीर्घकालीन बिकास भएको भन्दै तीन तहका सरकारले यस् तर्फ ध्यान दिएर योजना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले योजना तयार गर्दा जनताको मुख्य आवश्यकतालाई ध्यान नदिएसम्म समृद्ध मुलुक हुन नसक्ने भन्दै सबैले चासो दिएर जनमुखी योजना निर्माणमा जुट्न आग्रह गर्नुभयो । जनताको मुख्य आधारभुत आवस्यकता शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई र रोजगारलाई प्राथमिकता दिएर जानुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुख, सरोकारवाला लगायतको उपस्थिति रहेकोे थियो भने उक्त कार्यक्रमको संचालन प्राबिधिक कर्मचारी सित्तल आचार्यले गर्नुभएको थियो ।



S.K. Creative Media Group