प्यूठान । मनसुन नजिकिदै गर्दा विपदको पूर्व कार्य र विपद पूर्व तयारीमा ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विपदका सवालमा सञ्चारकर्मीहरुसँग छलफल कार्यक्रममा सहभागी सरोकारवालाले विपद जोखिम न्यूनिकरण गरि धनजनको क्षती कम गराउन पूर्व तयारी र पूर्व कार्यमा जोड दिनुपर्ने बताएका हुन् ।

वि.सं.२०७० सालदेखी २०८० सालसम्म देशमा बाढीपहिरो, भारी वर्ष र चट्यांगमा परेर तीन हजार ५२ जनाले ज्यान गुमाएका छन् । नेपाल विपदको उच्च जोखिममा रहेको र वर्षेनी जनधनको क्षति हुँदै आएकोले यसलाई न्यूनिकरण गर्न पूर्व तयारी र पूर्व कार्यमा जोड दिइएको छ ।

जिल्लाका दुई वटा स्थानीय तहमा अहिले विपद जोखिम न्यूनिकरणका लागि प्रतिबद्ध तेस्रो चरण परियोजना समेत सञ्चालन भएको छ । सरुमारानी गाउँपालिका र माण्डवी गाउँपालिकामा उक्त परियोजनाले विपद पूर्व तयारी र विपद पूर्व कार्यलाई जोड दिँदै स्थानीय समुदायको सचेतना वृद्धिको लागि काम गर्दै आएको छ ।
विजुवार जुम्रीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले अवको मनसुनको अवधिमा जिल्लाका सडकहरु अवरुद्ध हुने देखिएकाले त्यसको तयारी थालिएको बताउनुभयो । उहाँले स्थानीय तह, सडक डिभिजन कार्यालय, सडक पूर्वाधार कार्यालयलाई मेसिन उपकरण तयारी अवस्थामा राख्नेगरी व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले सत्य तथ्य समाचार तथा सूचना नागरिकलाई सम्प्रेषण गर्नुपर्ने भन्दै त्यसका लागि सक्रिय हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा विपद जोखिम, मौसमको पूर्वानुमान र पूर्वकार्यको अवधारणा, विपद र पत्रकारिता, उन्नत ग्रामीण सडक निर्माण र पहिरो व्यवस्थापन, विपद संवेदनशिल सामाजिक सुरक्षा, विपद प्रभावित निजि आवास पुर्ननिर्माण, पुर्नस्थापन तथा मर्मत अनुदान कार्यविधि–२०८१ को विषयमा प्रस्तुतीकरण गरिएको थियो । पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बासुदेव गिरीले गर्नुभएको थियो । सो कार्यक्रमको सहजिकरण प्रतिबद्ध संस्थाका सबिन नेपाल, सालिकराम घिमिरे, हेमन्त दङ्गाल, सुसान्त नेपाल, मनोज बिक्रम सिंह र नेपाल पत्रकार महासंघ  प्युठानका पुर्व अध्यक्ष सन्जय रिजालले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय