प्यूठान । झिमरुक गाउँपालिकाले सबै वडामा रहेका खानेपानी योजनाको खानेपानी गुणस्तर नमुना परिक्षण गरेको छ । शुक्रवारसम्म पालिका भित्रका ७३ वटा आयोजनाको खानेपानीको गुणस्तर नमुना परिक्षण गरिएको हो ।

झिमरुक गाउँपालिकाका १, २, ६, ७ र ८ वडामा रहेका ८ वटा सामुदायिक विद्यालयका २० वटा खानेपानी योजना, ५० वटा खानेपानी आयोजना र ३ वटा स्वास्थ्य संस्था गरि जम्मा ७३ वटा खानेपानी आयोजनाहरुको खानेपानी गुणस्तरको नमुना परिक्षण गरिएको गाउँपालिकाका खानेपानी, सरसफा तथा स्वच्छता शाखा प्रमुख शितल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना परिक्षणमा पानीको भौतिक, रासायनिक र जैविक परिक्षण गरिएको हो ।

शुक्रबार झिमरुक गाउँपालिका वडा नम्बर ६ मा पाँचवटा बिद्यालयको खानेपानी, बस्तीका ८ वटा खानेपानी आयोजना र एक स्वास्थ्य चौकीमा गरि जम्मा १३ वटा खानेपानी आयोजनाको खानेपानीको गुणस्तर परिक्षण गरिएको थियो ।

भौतिक परिक्षणमा पानीको धमिलोपना तथा हाइड्रोजन विभव (पिएच), रासायनिक परिक्षण अन्तरगत पानीको कडापन, फस्फेट, आइरन, एमोनिया, कोलोराइड, तथा जैविक परिक्षण अन्तरगत फौकल कोलिफ्रर्म ईकोलीको परिक्षण गरिएको छ । जसमा अधिकांश पानीको नमुनाहरुमा फौकल कोलिफ्रर्म ईकोली देखिएको छ । केही पानीको नमुनामा  हाइड्रोजन विभव (पिएच) को मात्रा नेपाल खानेपानी गुणस्तर मापदण्ड २०६२ ले तोके भन्दा कम गुणस्तरको देखिएको  खानेपानी, सरसफाइ तथा स्वच्छता विज्ञ शरद चन्द्र केसीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा खानेपानीको नमुनाहरुको गुणस्तर परिक्षणको साथसाथै खानेपानीको महत्व, सरसफाइ र स्वच्छताको महत्व तथा आवश्यकता र दुषित खानेपानीको कारणले मानव स्वाथ्यमा पार्ने असर र न्युनिकरणको विषयमा समेत सहजिकरण गरिएको शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

समुदाय स्तरमा अझै पनि खानेपानी, सरसफाइ र स्वच्छता सम्वन्धि जनचेतनाको अभाव रहेकोले स्वास्थ्य सरसफाइ र स्वच्छता सम्वन्धि जनचेतना मुलक कार्यक्रमहरुको माध्यम मार्फत खानेपानी शुद्धिकरणका विधी, वातावरणीय सरसफाइ तथा खानेपानी सुरक्षा योजनाको वारेमा जानकारी गराउनुपर्नेमा सरोकारवालाले जोड थियो  ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष धन बहादुर पुनले जनताको प्रत्यक्ष सरोकार रहेको खानेपानीको गुणस्तर परिक्षण नगरी प्रयोग गर्दा स्वास्थ्यमा असर पर्ने भएकोले नागरिक सचेत हुनुपर्ने बताउनुभयो । आगामी वर्षपनी यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर जानेमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

यो कार्यक्रम झिमरुक गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१।०८२ को स्वीकृत खानेपानी गुणस्तर परिक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तरगत झिमरुक गाउँपालिकाका विभिन्न ५ वटा वडाहरुमा सम्पन्न भैसकेको र अन्य वडामा यहीँ आर्थिक वर्षभित्रमा सकिने पालिकाले जनाएको छ ।

झिमरुक गाउँपालिका-६ मा भएको कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षता रहेको थियो भने कार्यक्रममा वडा सचिव राम कुमार चौधरी, वडा सदस्य, कर्मचारी, बिद्यालयका प्रतिनिधि, खानेपानी उपभोक्ता समितिका प्रतिनिधि सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण खानेपानी, सरसफाइ तथा स्वच्छता विज्ञ शरद चन्द्र केसी, झिमरुक गाउँपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखा प्रमुख शितल आचार्य र पुर्वाधार तथा भवन नियमन शाखाका प्राविधिक वासुदेव गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय