पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले राजिनामाको माग गर्दै पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको छ ।
प्रजातान्त्रिक युवा संगठन कास्कीले बिहिवार पोखरा पृथ्वीचोकमा राँको सहित मन्त्री किराँतीको पुत्ला दहन गरेको हो । धार्मिक सद्भावमा खलल पुग्नेगरी अभिव्यक्ति दिएकाले किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले जनाएको छ ।
बुधबार एक सार्वजनिक कार्यक्रममा मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको विरोध भइरहेको छ।