वासुदेव गिरी
प्यूठान । झिमरुक गाउँपालिकाले स्थानीय बालबालिकालाई कानुनी शिक्षा तथा न्यायिक सचेतना कार्यक्रम गरेको छ । मंगलबार पालिकाको न्यायीक शाखाको आयोजनामा हरेक वडाका करिब एकस सय २० बढी बालबालिकालाई कानुन शिक्षा प्रदान गरिएको हो ।
गाउँपालिका भित्र रहेको एक क्याम्पस र १३ वटा सामुदायिक विद्यालयमा यस अघिनै कानूनी शिक्षा तथा न्यायिक सचेतना अभियान संन्चालन गरेको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार कानुनी शिक्षा तथा न्यायिक सचेतना अभियानबाट १ हजार ३ सय २० बढि बालबालिका र करिब एक सय बढी शिक्षकहरु प्रत्यक्ष लाभांवित भएको बताउनुभयो । बालबालिकालाई कानूनी शिक्षाको ज्ञानले बाल अधिकार सहित शिक्षा, स्वास्थ्य, बालश्रम, बालविवाह, कुसंस्कार जस्ता मुद्दामा स्वत जागरूक हुने बताउनुभयो ।
कानुनी शिक्षाको सामान्य ज्ञान नहुँदा ग्रामीण बस्तीका नागरिकले अनावश्यक रुपमै दुःख झेल्नुपरेको जनगुनासो रहेको भन्दै न्यायीक शिक्षा सम्वन्धी कार्यक्रमलाई सवै विद्यालय र समुदाय स्तरमा लैजाने गरि गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत बनाएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो । उहाँले हरेक नागरिकको चेतनास्तर उठाउन सकेमात्र सभ्य समाज निर्माण गरि अर्थपूर्ण बिकास गर्न सकिने बताउनुभयो ।
स्थानीय सरकार संचालन, न्यायिक समितिको कार्यक्षेत्र, कानुनी पहुँच, मेलमिलाप, बालविवाह, छुवाछूत, निवारण, लागूपदार्थ दुरुपयोग रोकथाम लगायतका विषयमा कानूनी साक्षरता सम्वन्धी ज्ञान मिलेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो । कार्यक्रम कानुनी साक्षरताको अभ्यास सँगसँगै बालबालिकाको चेतना स्तरको समेत पूर्नजागरण गर्न सहयोग पुगेको अधिकृत केसीले बताउनुभयो ।
कार्यक्रमलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समेत सम्वोधन गरेर अगाडी बढाउने योजना बनाएको गाउँपालिकाका सहायक अधिकृत एवं न्यायीक समितिका सदस्य यामलाल पोखरेलले जानकारी दिनुभयो ।
स्थानीय सरकार भनेको के हो, यसको गठन प्रकृया र बिकास र सेवाको हिसाबले कस्ता कस्ता काम गर्छ, पालिकाको न्यायिक समिति के हो ? यसले के काम गर्छ ? समुदाय स्तरमा हुने मुद्दा मामिलालाई गाउँतहबाटै कसरी मेलमिलाप गर्न सकिन्छ जस्ता विषयमा शिक्षा दिइएको थियो ।
गाउँपालिकाको न्यायीक समितिले आयोजना गरेको कार्यक्रममा बालविबाह, छिटो विवाह गर्दा हुने असर, त्यसबारे कानूनी कारवाही लगायतका विषयमा तालिम दिएको गाउँपालिकाका सहायक अधिकृत एवं न्यायीक समितिका सदस्य यामलाल पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख मोहन बिसी, सूचना प्रविधि अधिकृत सुवास घिमिरे र सहभागीको तर्फबाट संगीता पोख्रेल, बिनोद एमसीले मन्तव्य राख्नुभएको थियो । आफुले सिकेका ज्ञान सीप व्यवहारमा उतार्न सकेमात्र समाज रुपान्तरण गर्न सकिनेमा बोल्ने बक्ताहरुको जोड थियो ।
गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितीका संयोजक प्रमोद पोख्रेल र सहायक अधिकृत एवं न्यायीक समितिका सदस्य यामलाल पोखरेलले तालिमको सहजीकरण गर्नुभएको थियो ।




S.K. Creative Media Group