सिन्धुली । गोलन्जोर गाउँपालिका वडा नं. ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । सोमबार विहान प्रहरीले उर्मिला हायुको परिवारका कोहि सदस्य पनि घरमा नभएको स्थानीयबाट सूचना पाएको थियो ।
परिवारका सदस्यहरु सबै हराएको खबरपछि वडा अध्यक्ष रविन श्रेष्ठ सहितका जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु र इलाका प्रहरी कार्यालय खुर्कोटबाट इन्स्पेक्टरको नेतृत्वको टोली उक्त स्थानमा पुगेको छ । वडाअध्यक्ष श्रेष्ठले उक्त परिवारमा १६ जना सदस्य एकै घरमा बस्ने गरेको जनाएका छन ।
घरमा पुग्दा घरको पालीमा आगलागी भएको र सामान्य क्षति रहेको भेटिएको छ भने अलपत्र अवस्थामा पशु र पंक्षिहरु भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताउनुभएको छ ।
स्थानीय जनप्रतिनिधि र गाउँलेसँग हराएका परिवारका सदस्यको बारेमा बुझ्ने काम भइरहेको र त्यहाँ आसपासमा कुनै अप्रीय घटना भएको संकेत अहिलेसम्म नमिलेको सुबेदीले बताउनुभयो । स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
हायु परिवारले पालेका ४, ५ वटा बाख्रा, १५, १६ वटा कुखुरा र भैंसी अलपत्र अवस्थामा रहेको पाइएको गोलञ्जोर गाउँपालिकाका कर्मचारी हरिकिशोर कार्कीले बताउनुभएको छ । उक्त स्थानमा हायु परिवारको एउटा मात्रै घर थियो । जहाँ अन्य गाउँलेहरुको घरमा पुग्न करीब १५ मिनेट भन्दा बढी लाग्ने कार्कीले जानकारी दिनुभएको छ । पशुहरु कराएपछि गाउँलेहरुले थाहा पाएर प्रहरीलाई खबर गरेको पनि उनले जानकारी दिनुभयो ।


S.K. Creative Media Group