प्यूठान । पार्टीलाई गतिशिल बनाउनका लागि जनवर्गिय संगठनहरुको भूमिका महत्वपूर्ण हुने नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य, प्यूठान इन्चार्ज एवं प्रतिनिधीसभा सदस्य सूर्य थापाले बताउनुभएको छ । बुधवार पार्टी जिल्ला कमिटीको विजुवारमा आयोजित बैठकलाई सम्वोधन गर्दै थापाले पार्टीलाई मजवुद बनाउन जनवर्गिय संगठनहरु पिलरको रुपमा उभिनुपर्ने धारणा राख्नुभयो ।
‘जनवर्गिय संगठन पार्टीभन्दा अलग हुन सक्दैनन्’,थापाले भन्नुभयो,‘पार्टीका नीति र सिद्धान्तलाई अंगालेर हिड्नुपर्छ ।’ उनले पछिल्लो समय नेकपा एमालेप्रति जनताको आकर्षणलाई सहन नसकेर सवैतिरबाट घेराबन्दी भइरहेको र त्यसलाई चिरेर अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
उहाँले जनवर्गीय संगठनलाई चुस्त दुरुस्त बनाएर संगठनलाई थप व्यवस्थित बनाउन पर्नेमा जोड दिनुभयो । नेता कार्यकर्ताले संगठनको क्यारेक्टर थाहा पाउनुपर्छ। उहाँले भन्नुभयो, सोही अनुसार कार्ययोजना बनाएर संगठनलाई अगाडि पढाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा पार्टीका विभिन्न क्षेत्रका १८ वटा जनवर्गिय संगठनका प्रमुख, इन्चार्ज र पदाधिकारीहरुको सहभागीता थियो । उमेशस्मृती भवन (रातो घर) विजुवारमा आयोजित बैठकमा जिल्ला कमिटी अध्यक्ष विजयविराज विष्टको अध्यक्षता, पार्टीका जिल्ला कमिटी सचिव इन्द्रमणी पोख्रेलले स्वागत र सहजीकरण नेगनसिंह कुवरले गर्नुभएको थियो।
बैठकमा सबै जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिले आफ्नो संगठनले गरेका गतिविधिको रिपोर्टिङ तथा भावी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो । अवधी सकिएका जनवर्गीय संगठनले अधिवेशनको तयारीमा जुट्नको लागि जिल्ला पार्टी अध्यक्ष बिजय बिराज विष्टले जानकारी दिनुभयो ।
प्रतिनिधीसभा सदस्य थापाको प्रमुख आतिथ्यतामा जिल्लाका सरकारी निकाय, सुरक्षा निकाय र विकास निर्माणसंग सरोकार राख्ने निकायहरुसंग छलफल एवं अन्तरक्रिया भएको छ ।



S.K. Creative Media Group