नौबहिनी । नौबहिनी गाउँपालिकाको ८ नं. वडा पहिलो पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा भएको छ ।
वडामा आ.व. २०८०/०८१ मा ७१ जना संस्थागत सुत्केरी भएको र आ. व. २०८/०८२ मा ६६ जना स्वास्थ्य संस्थामै सुत्केरी भएकोले पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको फोप्ली स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
विगत २ वर्ष देखि नौबहिनी गाउँपालिकाका सबै वडामा स्थलगत अध्ययन भएको थियो । सोही अध्ययन प्रतिवेदन अनुसार गर्भवती जाँच, सुत्केरी पश्चातको जाँच नियमित भएको साथै ‘जिरो होम डेलिभरी’ (घरमा हुने सुत्केरी शुन्य) भएको पाइएपछि बिहिबार ८ नं. वडालाई पहिलो वडा घोषणा गरी उक्त वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।
भौगोलिक हिसाबले विकट भएपनी सम्बन्धित सबैको सकारात्मक दृष्टिकोणका कारण उक्त वडामा यसरी पुर्ण संस्थागत सुत्केरी गराउनुका साथै वडा घोषणा हुनु महत्वपूर्ण उपलब्धि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजु खड्काले बताउनुभयो ।
वडा स्तरमा घोषणा भएपनी पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने साथै यस्ता सन्देश वडा-वडामा पुर्याउनु पर्ने प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार नेपालले बताउनुभयो ।
कठिन परिस्थितिका बाबजुद पनि स्वास्थ्य संस्थाका कर्मचारी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समुह लगायत सम्बन्धित सबैको सहयोगले ८ नं. वडालाई पुर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गर्न सफल भएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । साथै अन्य वडाहरुलाई पनि घरमा हुने सुत्केरीको अवस्थालाई शुन्यमा पुर्याई वडा घोषणा सङ्गै भव्य समारोहका साथ पालिका घोषणा गर्ने बताउनुभएको छ ।
कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि तथा अन्य अतिथिहरुले कार्यक्रमले सकारात्मक सन्देश दिएको बताउदै शिशु मृत्युदर र बालविवाह न्यूनीकरणमा समेत ठोस कदम चालेर पालिकानै घोषणा गर्न सुझाउनुभएको थियो ।
कार्यक्रमको अवसरमा स्वास्थ्य संस्थाका कर्मचारी, सामुदायिक महिला स्वयंसेविका, स्वास्थ्य आमा समुहका प्रतिनिधि, गर्भवती तथा सुत्केरी महिला उद्दार समुहहरु सबैलाई सम्मान गरिएको थियो ।
नेपाल सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।






S.K. Creative Media Group