प्यूठान । प्यूठानका संघीय सांसद् सूर्य थापाले भालुवाङ–प्यूठान सडक खण्ड अन्तर्गत जिल्लाको सरुमारानी गाउँपालिकामा पर्ने खहरे खोला पक्की पुल पुल निर्माणका लागि संसद् मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवारको संसद् बैठकमा बोल्दै थापाले सधैँको बर्खामा माथीबाट खसेको लेदोले सडक अवरुद्ध भइरहँदा नागरिकलाई सास्ती भएकाले आवश्यक बजेट विनियोजन गरी पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लुम्विनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुवाङ्गदेखि प्यूठान र रोल्पाको जिल्ला सदरमुकाम जोड्ने सहायक राजमार्गको रुपमा रहेको उक्त सडकको खहरे खोलामा पुल नहुँदा यात्रुहरुले धेरै कष्ट भोग्नुपरेको थापाले बताउनुभयो। रोल्पा, प्यूठान सहित यो सडक भएर छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका नागरिकहरु समेत ओहोर दोहोर गर्ने हुँदा पुल निर्माणको प्रक्रियालाई तत्कालै अगाडी बढाउनुपर्ने उहाँको माग रहेको छ ।
प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी जाने मुख्य सडक समेत यही हो । गुल्मी र अर्घाखाँचीका नागरिकहरु प्रदेश मुकाम देउखुरी पुग्नका लागि समेत यही सडक भएर आउजाउ गर्ने गर्छन् । खहरेसँगै सांसद् थापाले प्यूठानकै डुम्रे खोलामा समेत पक्की पुल निर्माणको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।



S.K. Creative Media Group