प्यूठान । गौमुखी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने उदेश्यले शुरु गरिएको गौमुखी भ्रमण वर्ष–२०८२ को प्रर्वद्धन गर्नका लागि नेपाल पत्रकार महासंघ प्यूठान र गौमुखी गाउँपालिकाबीच सहकार्य हुने भएको छ । एक लाख पर्यटक गौमुखीमा भित्र्याउने लक्ष्य सहित थालिएको भ्रमण वर्षलाई सफल बनाउन व्यापक प्रचार प्रसारका लागि पत्रकार महासंघ प्यूठानले सहकार्य गर्न लागेको हो ।

नेपाल पत्रकार महासंघले प्रचार प्रसारका लागि विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार सूचना केन्द्र विजुवारमा बसेको बैठकले भ्रमण वर्षको प्रचार प्रसारका लागि जिल्लाका सञ्चारकर्मी, सञ्चारमाध्यमको भूमिका बढाउने विषयमा छलफल भएको हो ।
बैठकमा गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले एक लाख पर्यटक ल्याउने लक्ष्य सहित शुभारम्भ गरिएको भ्रमण वर्षलाई सफल बनाउन गाउँपालिकाले विभिन्न योजना र बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँले प्रत्येक वडामा पर्यटन सम्वन्धी गतिविधि गर्नका लागि पालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । गौमुखी क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि भ्रमण वर्ष आयोजना गरिएको उहाँले बताउनुभयो । मिडिया क्षेत्रबाट भ्रमण वर्षको प्रचार प्रसार आवश्यक रहेकाले पालिकाले सहकार्य गरेर गतिविधि गर्न लागेको जानकारी दिनुभयो ।

गौमुखी गाउँपालिकाको १८ औं गाउँसभाले गौमुखी भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरेको र सोही अनुसार कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभयो । गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उदेश्य लिएर भ्रमण वर्ष मनाउन लागिएको अध्यक्ष गिरीको भनाई छ ।

पालिका भित्र रहेका झरना, तालतलैया, जंगल, धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकलाई भित्र्याउने उदेश्यले भ्रमण वर्ष मनाउन लागिएको गाउँपालिकाले जनाएको छ । गौमुखी गाउँपालिका भित्र गौमुखी, बाइसमुल झरना, झाक्रिढुङ्गा, तामाखानी, नाङ्गी लेक, गुफा, रानीताल, गोद्रेचौर लगायतका घुम्ने स्थान रहेका छन ।

गाउँपालिकाले थालेको पर्यटन वर्षको कार्यक्रम जिल्लाकै लागि महत्वपूर्ण भएको पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताउनुभयो । उहाँले यस भ्रमण वर्षलाई सफल बनाउन मिडिया क्षेत्रको समेत दायित्व रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले स्थानीय पर्यटकीय क्षेत्रसँगै स्थानीय सोरठी, मारुनी, झ्याउरे, पञ्जेबाँचा लगायत कला संस्कृतिको प्रर्वद्धन समेत हुने अपेक्षा गरिएकोे बताउनुभयो । पर्यटकका लागि अहिले गौमुखी नजिकै अर्खा गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ ।
आन्तरिक पर्यटकलाई ट्रेकिङ सहित २/४ दिन गौमुखीका विभिन्न ठाउँमा घुम्ने वातावरण वनाउन भ्रमण वर्षले सहयोग गर्ने पालिकाको अपेक्षा छ । यसअघि आर्थिक वर्ष २०७६/०७७ लाई गौमुखी पर्यटन वर्षको रुपमा मनाउने नीति अख्तियार गरेको थियो । गौमुखीमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले मिडिया सम्मेलन समेत गरिएको थियो । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले जेठ १७ गते भ्रमण वर्षको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय