
काठमाडौँ । मुलुकमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्धमा एकाएक भड्किएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार दिउँसो साढे ३ बजेसम्म उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
मन्त्रालयको प्रारम्भिक विवरणअनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको जनाएको छ ।
उपत्यकाका अस्पतालमा ठूलो संख्यामा घाइतेहरू उपचाररत रहेको बताइएको छ। यद्यपि घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको स्रोतले जानाएको छ ।
आज दिनभर राजधानी सहित देशका विभिन्न स्थानमा भएको आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले रबरको गोली, अश्रुग्यास र लाठीचार्ज पानीको फोहोरा प्रयोग गरेको थियो। मृत्युको संख्या बढेसँगै आन्दोलन अझ चर्किन सक्ने आकलन गरिएको छ।
आन्दोलन चर्किएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न शहरमा तनावपूर्ण अवस्था कायम छ । प्रहरीको बल प्रयोग, विशेष गरी गोली प्रहारका कारण ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये २० भन्दा बढीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सुरु भएको आन्दोलन देशव्यापी बनेसँगै सरकार र गृहप्रशासनले थप सुरक्षा निगरानी बढाएको जानाएको छ।
काठमाडौं सहित मुलुकका विभिन्न सहरहरूमा अनियमितता र भ्रष्टाचार मौलाएको, नेताहरू नसुध्रिएको भन्दै जेनजीहरु सडक आन्दोलनमा उत्रिनु परेको जेन-जीले जनाएको छ ।