रिजन गिरी, प्यूठान । प्यूठान दहखोलामा बसोबास गर्ने दशनामी गिरी (महन्त)हरुले तिहारको दुई दिन पछाडी अर्थात तिहारे पञ्चमीको दिन गरिर्दै आएको कुलपुजा गरिएको छ। शुक्रबार झिमरुक गाउँपालिका-६ दहखोलाका दशनामी गिरी परिवारले शिद्ध मन्दिर परिसरमा भेलाजम्मा भएर पुजापाठ गरि प्रसाद ग्रहण तथा भैलो नाचगान गरेर कुलपुजा सकिएको हो ।

तिहारे पञ्चमीको दिन सबै दाजुभाइ इष्टमित्र आफन्त जम्मा भइ सामुहिक कुलपुजा गरिदै आएको छ । गाउँका सबैजना भेलाजम्मा भएर भण्डारा लगाएर सबैलाई प्रसादको रुपमा खिर, हलुवा, दहि, तरकारी, अचार खुवाउने गरिन्छ । तिहारे पञ्चमीको दिनलाई यहाँ बसोबास गर्ने महन्त गिरीले कुलपुजाको रुपमा मान्यता दिइदै आएको मन्दिर कुलपुजाका मुख्य पुजारी शोभा गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुहिक रुपमा भण्डारा खुवाउने परम्पराले भाइबन्धुहरु बिच आत्मीयता, भाइचारा, भातृत्व, एकता, सद्भाव, अहिंसा सदैब कायम रहिरहोस भन्ने सन्देश दिएको बताउनुभयो । तिहारे पञ्चमीको दिन कुलपुजा गर्दा वा भण्डारा लगाउदा लाग्ने खर्च सबै घरपरिवार मिलेर ब्यवस्थापन गर्दै आएको पुजारी गिरीले बताउनुभयो ।

लडाइ झगडा हिंसा त्यागेर शान्तिको बाटो समातेकोले कुलपुजाको दिन मारकाट नगर्ने छोइछिटो नगर्ने निराहार बस्ने गरिन्छ। मारकाट त्यागेर शान्ति र अहिंसाको मार्ग रोजेकोले कुलपुजामा कुनैपनी जनावरको समेत (बलि) हत्याहिंसा नगर्ने चलन रहेको स्थानिय जानकार बताउछन् ।

वर्षको एकपटक तिहारे पञ्चमीको दिन मौलो फेर्ने चलन समेत रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो । वर्षको एकपटक फेरिने मौलोको रुपमा बासको लिंगो गाड्ने चलन छ । लिङ्गोको टुप्पोमा गेरुरंगको कपडाको ध्वजा बनाई चढाउने गरिन्छ ।

नयाँ फेरिएको मौलो पुजेर सबै विधि अनुसार पुजा आराधना सकेर प्रसादको रुपमा त्यही मन्दिरमा बनाइएको हलुवा, खिर, रोटि, अचार, तरकारी, आफन्त र पाहुनालाई प्रसादको रुपमा खाने खुवाउने चलन रहेको मन्दिर व्यवस्थापन समितिका सचिब पुर्णलाल गिरीले जानकारी दिनुभयो ।

यहाँका महन्त गिरीहरुले प्रत्येक वर्ष नयाँ बाली भित्र्याउदा मन्दिरमा न्वाइँ चढाएर मात्र भित्र्याएको अन्न खाने चलन छ । खासगरी शिद्ध मन्दिरमा तिहारे पञ्चमी र नाग पञ्चमीमा विशेष पुजाआजा गरि धुमधामका साथ मनाउने गरिन्छ ।

स्थानीय शैलेन्द्र गिरीका अनुसार यो मन्दिर यस क्षेत्रकै महत्त्वपूर्ण मन्दिर रहेको र यो मन्दिरमा प्युठान आसपास लगाए रोल्पा समेतबाट पुजाआज गर्न आउने चलन रहेको बताउनुभयो । पुजासँगै भैलो नाच समेत देखाउने गरिन्थ्यो । उहाँले भन्नुभयो, अहिले केही वर्ष अगाडिदेखि आउन छाडिएको छ । अहिले भने दहखोलामा रहेका दशनामी गिरीहरुले समुहहरु मार्फत भैलो खेल्ने गरिदै आएको बताउनुभयो ।

दहखोले दशनामी गिरी महन्तहरु अहिले प्युठान दहखोला, मजुवा, खरिबोट, दाङको देउखुरी, जेठानगाउँ, कालकाटे, घोराही, काठमाडौं, गैंडाकोट, टिकापुर कैलाली, बुटवल भारतको आसाम बर्मा लगायतमा समेत बसोबास रहेको छन । अहिलेसम्म करिब १०० बढी घरधुरीमा जनसंख्या फैलिएको छ ।

करिब ३०० सय वर्ष अगाडि भारतको काश्मिर राज्यमा गोबिन्द चन्द ९ठकुरी वंश० राजाको राजकाज थियो । त्योबेला कास्मिरमा त्यहाँका एक छिमेकी मुस्लिम राजासँग युद्ध भएको र उक्त युद्धमा पराजित भएपछि गोबिन्द चन्द आफ्ना चेला सहित सुरक्षित स्थानको खोजिमा नेपालको प्युठान दहखोला आएको पौराणिक किबदन्ती रहेको छ । आफ्नो साथमा राजकाजका सहयोगी चार जना मध्ये एक जना ब्राहमण, जुन हाल नेटाका भट्टराईहरु हुन् । दोस्रा व्यक्ति विश्वकर्मा रहेको र उहाँहरुको पनि नेटा मै बसोबास रहेको छ । तेस्रा व्यक्ति परियार थिए र उहाँको बसोबास पारपाखामा रहेकोछ । त्यस्तै चौथो व्यक्ति रोका थरका थिए र उनीहरुको सन्तानको बारेमा जानकारी जानकारी नभएको जानकारहरु बताउछन् ।

काश्मिरको लडाइँमा पराजय भएपछि उहाँ आफ्नो सर्वस्व त्यागेर सन्यासी भएर नेपाल आएको इतिहास रहेको छ । उहाँले नेपाल आउँदा चेलाको रुपमा साथमा ४ जना ब्यक्ती समेतलाई लिएर आएको भनाइ छ । कास्मिरबाट पश्चिम नेपालको प्युठान आएपछि दहखोला गैराबरीमा मौलो बनाइ छेउमा कुटी बनाएर बसेको भन्ने भनाइ छ ।

त्यस्तै मन्दिर व्यवस्थापन पुजाआजाको लागि सहयोग प्रत्येक घरबाट उठाउने गरिएको छ । जसमध्ये भक्तजनको भेटिबाट रु ९ हजार ३ सय ७५, प्रत्येक घरधुरीबाट ८४ हजार ५ सय, गरि जम्मा रु ९३ हजार ८ सय ७५ रुपैया रकम संकलन भएकोमा खर्च भने ४३ हजार ८ सय ७५ रुपैया भएको सचिब पुर्णलाल गिरीले जानकारी दिनुभयो। खर्च भएर बचत रहेको रु ५० हजार र स्थानिय बिष्णु गिरी सुबेदारबाट नाति, नातिनीको नाममा दान स्वरुप २० हजार घोषणा गर्नुभएको रकम गरि रु ७० हजार रकम कोषमा जम्मा गरिने आवस्यकता अनुसार मन्दिर मर्मत सम्भारमा खर्च गरिने बताउनुभयो ।

पुजाआरधना सकेर प्रसाद ग्रहण गरेपछि स्थानीय मिलेर मन्दिरमा भैलो खेल्ने नाच्ने चलन समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय