रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा एक जानाको मृत्यु भएको छ भने तीन जाना घाइते भएका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, धुलेओडारमा सुलिचौर किलाचौर भित्री सडकखण्डमा किलाचौरबाट सुलिचौरतर्फ आउँदै गरेको लु २ च ८०१५ नम्बरको बलेरो पिकअप जिप गए राति करिब ९:५० बजे तिर दुर्घटना परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रोल्पा सुनछहरी गाउँपालिका–६ का जिप चालक ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको रोल्पा प्रहरीले जानाएको छ।
त्यस्तै दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा लुङ्ग्री गाउँपालिका-७, हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री गाउँपालिका-४, सालडाँडाका २७ वर्षीय भावना गिरी र उहाँकी छोरी ५ वर्षीय शान्ति गिरी रहेका प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरु सबैको अवस्था मध्यम रहेको र थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जिप सडकदेखि करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय सुलिचौरमा जानकारी गराएपछि प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमाण्डमा गएको टोली र स्थानीयले उद्धार कार्य गरेको थिए। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय सुलिचौरबाट करिब ४ किलोमिटर पूर्व–उत्तरतर्फ रहेको छ ।



S.K. Creative Media Group