
स्थानीहरुको करिब ६० लाख रुपैयाँ लागतमा जीपलाईन निर्माण हुँदैछ। अन्य भौतिक संरचना तयार पार्दासम्म १ करोड बढि खर्च हुने कम्पनीले जनाएको छ।
प्यार अलि खान
प्युठान । प्युठानको पर्यटकीय क्षेत्र मल्लरानीमा जीपलाईन निर्माणको कामले गति लिएको छ। जिपलाईनको निर्माणसंगै जिल्लाकै आन्तरिक पर्यटनमा रौनकता थपिने यहाँका स्थानीयहरुले विश्वास लिएका छन्।
यहि माघ १ गतेनै माघे संक्रान्तिको अवसरमा उद्घाटन गर्ने गरि मल्लरानी टुरिजम इन्भेष्टमेन्ट कम्पनी प्रालीले जिपलाईन निर्माणको कामलाई तिब्रता दिईरहेको छ। मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समुह तथा पालेबन सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ।
दुबै सामुदायिक वन उपभोक्ता समुहले आ-आफ्नो कार्ययोजना भित्र पर्या-पर्यटन अन्तर्गत जिपलाईन संचालनलाई महत्वका साथ अघि बढाएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराउनु भयो।
जिल्लाकै सदरमुकाम खलंगा बजार सुनसान बन्दै गईरहेको बेला जिपलाईनको निर्माणले नयाँ रक्त सञ्चार पैदा गर्ने स्थानीय व्यवसायीहरुले विश्वास लिएका छन्
कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समुहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया,लिज प्रोसेस तथा स्वामित्वबारे छलफल भैरहेको भारतीले बताउनु भयो। ‘जिपलाईन संचालनको मोडालिटी के-कस्तो हुने यसबारे छलफल चलिरहेको छ। हामी छिट्टै निष्कर्षमा पुग्नेछौं।’ भारतीले भन्नुभयो, ‘जीपलाईनले मल्लरानीको पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास लिएका छौं।’
करिब १ करोड रुपैयाँ लागतमा जिपलाईन बन्नेछ। ६ सय ५० मीटर लम्बाई रहने जिपलाईनको फाउन्डेशन, मुख्य पिलर निर्माणको काम सकिएको छ भने दोस्रो पिलर तयार गर्ने काम अघि बढिरहेको छ। जिपलाईनमा लाग्ने केवल (लठ्ठठा) एक हप्ता भित्रै भारतबाट आईपुग्ने कम्पनीका वरिष्ठ शेयर सदस्य तथा मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो। जिपलाईनलाई साहसिक खेल पर्यटनको रूपमा लिईन्छ।
गाउँपालिकाकै मुख्य पर्यटन क्षेत्रको रूपमा रहेको मल्लरानीमा मल्लरानी गाउँपालिकाले समेत ५ करोड रुपैयाँ बजेटमा विभिन्न पर्यटकीय पूर्वाधारका संरचनाहरको निर्माण कार्य अघि बढाएको छ। चिल्ड्रेन पार्क, सिँढी निर्माण, वाटर फाउन्टेन आदि पर्यटकीय पूर्वाधारका कामहरु अघि बढाईएको गाउँपालिकाले जनाएको छ।
स्थानीयस्तरबाट समेत मल्लरानीमा विभिन्न पर्यटकीय संरचनाहरु तयार गरिएको छ। समुन्द्री सतहबाट १६ सय ५५ मिटरको उचाईमा रहेको मल्लरानीबाट विभिन्न हिम श्रृङ्खला, प्यूठान उपत्यका आदिको अवलोकन गर्न सकिन्छ। जिपलाईन संचालनमा आएसँगै सुनसान बन्दै गएको जिल्लाकै सदरमुकाम खलंगा बजारमा चहलपहल बढ्ने विश्वास लिईएको छ।