प्यूठान । पवित्र धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीको आधार शिविर भिंगृमा महोत्सव सञ्चालन हुने भएको छ । पुस १८ गतेदेखि २९ गतेसम्म भिंगृमा महोत्सव सञ्चालन गर्न लागिएको हो ।
यसअघि निर्माण गरिएको धर्मशालाको भवनलाई पूर्णता दिनका लागि प्रथम स्वर्गद्वारी भिंगृ प्यूठान महोत्सव सञ्चालन गर्न लागिएको प्युठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रका अध्यक्ष विष्णु योगीले बताउनुभयो । “स्वर्गद्वारी बहुउदेश्यीय धर्मशाला निर्माण प्रारम्भ भयो तर यसले पूर्णता पाउन सकेको छैन,” उहाँले भन्नुभयो, “धर्मशाला भवन निर्माण सहित थप व्यवस्थापन गर्न महोत्सव आयोजना गरिएको हो ।”
बुधबार धर्मशाला भिंगृमा आयोजना गरिएको पत्रकार भेटघाटमा महोत्सव प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले स्वर्गद्वारी सहितको पर्यटकीय क्षेत्रको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने बताउनुभयो । स्वर्गद्वारी नआएका व्यक्तिहरु समेत महोत्सव हेर्न र स्वर्गद्वारी दर्शन गर्न आउने वातावरण बन्ने उहाँले बताउनुभयो ।
महोत्सवले स्वर्गद्वारी सहित चिल्ड्रेन पार्क, भुवनोट, शान्ति पार्क सहितका पर्यटकीय क्षेत्रको समेत प्रचार हुने अपेक्षा आयोजकको छ । स्वर्गद्वारीको आधार शिविर भिंगृ बजार क्षेत्र समेत महोत्सवका कारण चलायमान हुने आयोजकले जनाएको छ ।
९० लाख रुपियाँ भन्दा बढी कारोबार हुने लक्ष्य राखेको महोत्सवबाट आयोजकले नौ लाख रुपियाँ भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको अध्यक्ष योगीले बताउनुभयो । महोत्सवमा स्थानीय परिकार, कृषि प्रर्दशनी, प्युठान डान्स आईडल, विभिन्न कला संस्कृतिको प्रर्दशनी हुनेछ ।



S.K. Creative Media Group