काठमाडाैं । पोखराको सेती खोचमा भएको यती एयरको विमान दुर्घटनामा मानवीय कमजोरी रहेको दुर्घटना जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । बिहीबार दुर्घटना जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।
गत वर्षको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वको बनाइएको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ ।
उक्त जाँचबुझ आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको थियो ।
प्रतिवेदन बुझाउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले दुर्घटना हुनुको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको र त्यस अवस्थामा जहाज अगाडि बढ्न नसक्ने भएका कारण जहाज भुँइमा झरेको बताउनुभयो । यसो हुनुमा मानवीय कारण दोषी मानिएको आयोगको ठहर रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो । उक्त विमान दुर्घटना नेपाली आन्तरिक हवाई उडानको सबैभन्दा विनाशकारी दुर्घटना भएको उहाँले बताउनुभयो । यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रियअन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत आयोगले जनाएको छ ।
गत वर्षको माघ १ गते काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा सबै यात्रुको मृत्यु भएको थियो । उक्त विमान दुर्घटना नेपाली आन्तरिक हवाई उडानको सबैभन्दा विनाशकारी दुर्घटना भएको बताइएको छ ।
फाइल फोटो :