प्युठान । जिल्लाको सरुमारानी गाउँपालिकामा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल दिनानुदिन तातिँदै जाँदा नेकपा एमालेका तर्फबाट उम्मेदवार सूर्य थापाले वडावडा र टोलटोलबाट पाएको सकारात्मक साथले राजनीतिक सरगर्मीमा उत्साह थपिदिएको छ ।
सरुमारानी गाउँपालिका वडा नम्बर ४ बाट माघ १७ गते सुरु भएको जनसमर्थनको यात्रा क्रमशः ६ वटै वडाका १७ वटा चुनावी भेटघाटमा जाँदा सूर्यध्वजाबाहक उम्मेद्वार थापालाई पुष्पगुच्छा, अबिर र मालासहित मतदाताले भव्य स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् । स्थानीय मतदाताको यस्तो आत्मीय स्वागतले एमालेको संगठनात्मक मजबुती मात्र देखाएको छैन, प्रतिस्पर्धी दल र अन्य वडा र पालिका कमिटीका लागि समेत चुनौती अझ बढेको छ ।
वडा नम्बर ४ मा युवा भेला र चुनावी भेटघाटको सुरुवात :
गाउँपालिकाको केन्द्र वडा नम्बर ४ लाई नेकपा एमालेको चुनावी भेटघाट अभियानको प्रारम्भबिन्दुका रूपमा थालिको थियो । यहीँबाट सुरु भएको घरदैलो भेटघाट, कोणसभा र छलफलमा स्थानीय मतदाताले देखाएको उत्साह उल्लेखनीय रह्यो । विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयमा स्पष्ट धारणा राख्दै थापाले विगतका काम र आगामी योजना प्रस्तुत गरेपछि वडा ४ का नागरिकले खुलेर समर्थन जनाए । स्वागतका क्रममा स्थानीय अगुवा, युवाहरु र महिला समूहले अबिर–मालाले सम्मान गर्दै “विकासका लागि अनुभवी नेतृत्व” भन्दै शुभकामना दिएका थिए ।
छ वडाका १७ स्थानमा भ्याइनभ्याइ भेटघाट :
वडा नम्बर ४ बडडाँडाबाट उठेको लहर वडा नम्बर ३ को दोमै, सझिकोट, गाहा चौपारी, पालुथान, उधुनिढुङ्गा, सुजिनपुर ५ नम्बर वडाको जस्पुर, ६ नम्बर वडाको भिङ्ग्रीखोला, १ नम्बर वडाको फुर्साबाङ र सन्यासी चौतारी, २ नम्बर वडाको बर्नबिर चौपारी, रत्ने, ढाँण, गनाहाफाँट हुँदै ददेरी सम्मको चुनावी भेटघाट अत्यन्त प्रभावकारी बन्यो । हरेक वडामा आयोजित भेटघाट कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको थियो । स्थानीयले सूर्य थापालाई रातो टीका, पुष्पगुच्छा र मालाले स्वागत गर्दै आगामी निर्वाचनमा जितको अग्रिम शुभकामना दिएका छन् । वडावडामा उठेका प्रश्न, कृषि उत्पादनको बजारीकरण, ग्रामीण तथा अन्तर जिल्ला र पालिका जोड्ने सडकलाई पक्की गर्ने, खानेपानी, नौघाट र गनाहालगायतका स्थानमा पक्की पुल, रोजगारीका अवसर, नौमुरे जलविद्युत आयोजनाको कार्यान्वयनबाट युवालाई विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने स्पष्टतासहित सबै विषयमा उम्मेद्वार थापाले स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसले मतदातामा थप विश्वास र भरोसा बढाएसँगै उहाँलाई नै आफ्नो अमूल्य मत दिने स्थानीयको प्रतिक्रिया छ ।
संगठन र जनसम्पर्कको भरोसा :
नेकपा एमाले सरुमारानी गाउँपालिकामा संगठनात्मक रूपमा मजबुत रहेको छ । वडा कमिटीदेखि टोलस्तरका सम्पूर्ण का्यकर्ताको सक्रियताले अभियानलाई गति दिएको छ । यसपटक उहाँको उम्मेदवारीलाई स्थानीय नेताकार्यकर्ता मात्र होइन, स्वतन्त्र सोच राख्ने मतदाताले समेत सकारात्मक रूपमा लिएका छन् । युवाहरुका अनुसार उम्मेद्वार “विपक्ष र प्रतिगामी विरुद्ध कडा प्रतिवाद गर्ने स्पष्ट वक्ता, भाषणमा बोलेका कुरा व्यवहारमा उतार्न सक्ने विकासप्रेमी र काममा विश्वास गर्ने नेता” रहेको बताउँछन् । महिलाहरुले शिक्षा र स्वास्थ्यमा उहाँको भूमिका स्मरण गर्दै संसदमा निरन्तरताको अपेक्षा गरेका छन् । यही जनसम्पर्क, विश्वास र भरोसाले नै यहाँ एमाले मुख्य शक्ति बनेको विश्लेषण गरिएको छ ।
प्रतिस्पर्धीका लागि सकस :
सरुमारानीका सबै ६ वडाबाट आएको यस्तो एकीकृत समर्थनले प्रतिस्पर्धी उम्मेदवारलाई दबाबमा पारेको छ । जहाँजहाँ थापाको कार्यक्रम पुग्यो, त्यहाँ व्यापक जनसहभागिता र भव्य स्वागतले चुनावी माहोल र गणित नै बदलिएको चर्चा छ । एउटा वडाबाट सुरु भएर सम्पूर्ण वडामा फैलिएको समर्थनको यो लहर कुनै सामान्य संकेत होइन । यसले मतदाताको मनोविज्ञान र चुनावी नतिजामा प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ । प्रतिस्पर्धी दलले आफ्ना कार्यक्रम थप सशक्त बनाउन लागि पर्ने अवस्थासमेत आएको छ ।
स्थानीय अपेक्षा र प्रतिबद्धता :
सरुमारानी गाउँपालिकाका मतदाताले उममेद्वार थापासँग ठूलो अपेक्षा राखेका छन् । कृषि, पर्यटन, सडक, रोजगारी र सामाजिक सेवामा ठोस कामको चाहना व्यक्त गरेका छन् । उहाँले पनि “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो, ५ वर्षका लागि चुनिएता पनि बिचमै (३३ महिना) प्रतिनिधिसभा विघटन गरेर बिथोलिएको संविधानको रक्षार्थ मुख्य न्यायालय नै जनता रहेकाले आफु जनताको इजलाशमा न्याय माग्न आएको” भन्दै चुनाव जितेपछि घोषणापत्रअनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।
उहाँका अनुसार प्रतिनिधिसभा सदस्य बनेपछि सरुमारानी मात्र होइन, समग्र प्युठानको आवाज संघीय संसदमा बुलन्द गर्ने मात्र होइन, सिङ्गो प्युठानका अधुरा र नयाँ देखिने काम गर्ने बताउनुभएको छ । उहाँले विदेशी षडयन्त्रविरूद्द देशभक्ति र राष्ट्रिय स्वाभिमानको झण्डा उचो बनाउन चोखो मनले काम गर्ने पनि स्पष्ट पार्नुभयो। उहाँले सरूमारानी गाउँपालिकाका सबै वडाहरूमा पुगेर चुनावी भेटघाट पूरा गर्नुभएको छ ।



S.K. Creative Media Group