प्यूठान । नौबहिनी गाउँपालिका- ८ स्थित फोप्ली स्वास्थ्य चौकीमा ३० वर्षभन्दा माथिका सम्पूर्ण नागरिकका लागि निःशुल्क रूपमा किड्नी जाँच, सुगर (मधुमेह) परीक्षण तथा पिसाब जाँच गरी नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सम्पन्न गरिएको छ ।
यसअघि समुदाय स्तरमा गरिएको उक्त कार्यक्रम मंगलबार स्वास्थ्य संस्थामा गरिएको हो । हालसम्म करीब ३५० ब्यक्तिको नसर्ने रोगको स्क्रिनिङ गरिएको फोप्ली स्वास्थ्य चौकी प्रमुख, जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेले बताउनुभयो ।
साथै उक्त अबसरमा सामाजिक सुरक्षा भत्ता बुझ्ने सेवाग्राहीलाई फोटोकपी सेवा समेत दिइएको छ । हालसम्म करिब ५१३ जना सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकहरूलाई निःशुल्क फोटोकपी सेवा प्रदान गरिएको छ।
वृद्धप्रतिको सम्मान र मानव सेवाको भावनाबाट नौबहिनी–८ फोप्लीमा टोल–टोलमै निःशुल्क फोटोकपी सेवा दिईएको घिमिरेले बताउनुभयो ।
यो अभियान फोप्ली स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेको पहलमा हेल्पर्स समूह, वडा कार्यालय तथा स्थानीय युवाहरूको सहकार्यमा सुरु गरिएको हो। अभियानको मूल उद्देश्य सहयोग देखाउनु मात्र नभई वृद्ध नागरिकप्रति सम्मान, सहानुभूति र मानव सेवाको भावना अभिव्यक्त गर्नु रहेको घिमिरेको भनाई छ ।
स्थानीयले यस पहललाई मानव सेवाको उदाहरण, सामाजिक उत्तरदायित्वको अभ्यास र अनुकरणीय कार्यका रूपमा लिएका छन् ।



S.K. Creative Media Group