
काठमाडौं । जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ गते जनयुद्ध दिवसको दिन बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो
आदेशमा भनिएको छ “हाल शान्ति प्रक्रिया तथा सङ्क्रमणकालिन न्यायसम्बन्धी विषय टुङ्गो लागिनसकेको, सो सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको र नेपालको संविधानको प्रस्तावना र धारा २०, धारा २१ र धारा ४२ को उपधारा (५) को शब्द, मर्म र भावना बिपरित एवम् धारा ३०४ को उपधारा (२) बमोजिम शान्ति प्रक्रियाका सबै काम सम्पन्न हुन बाँकी रहेको अवस्थामा सार्वभौम जनताको प्रतिनिधि मूलक संस्था संसदमा छलफल नगरी बिदा दिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०७९ माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको थियो।