प्यूठान । नेपालमा राजतन्त्र अन्त्यकोे आन्दोलन श्रृजना गर्न चेतना निर्माणका लागि सूर्य थापाको लेखन यात्राको महत्वपूर्ण योगदान रहेको छ । आमजनताको दिलदिमागमा राजतन्त्रको खरावी स्थापित गरेर गणतान्त्रिक आन्दोलनमा लाग्न उद्वेलित गर्न ती पुस्तकहरुको महत्वपूर्ण योगदान रहेको छ ।
पत्रकारिता र लेखन यात्राबाट राजनीतिक व्यवस्था बलिएको र जनताको अवस्था बदल्नका लागि आफुले राजनीतिक यात्रा शुरु गरेको थापा बताउनुहुन्छ । नेकपा (एमाले)का प्यूठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका थापा अहिले चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ ।
राजतन्त्रको विरुद्धमा जनमत सिर्जना र जागृत चेतना निर्माण गर्ने गरी उहाँले तीनवटा पुस्तक लेख्नुभयो । उहाँले लेख्नुभएका तीन पुस्तक ‘विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य’ (२०६०), ‘नेपालमा राजतन्त्र र दलहरुबीचको संघर्ष’ (२०६२) र ‘राजतन्त्रको अर्थराजनीति’ (२०६३) उतिबेला असाध्यै चर्चित पुस्तक हुन् ।
‘राजतन्त्र किन खराब छ ?’ भन्ने बिषयलाई आमजनताको दिलदिमागमा स्थापित गरेर गणतान्त्रिक आन्दोलनमा लाग्न उद्वेलित गरेका थिए ती पुस्तकहरुले । राजतन्त्रको बिदाई र गणतन्त्रको स्थापनापछि ‘नेपालमा गणतन्त्रको स्थापना र राज्यको पुनःसंरचना’ (२०६५) नामक पुस्तक लेखेर राज्यको पुनःसंरचनाको बहसलाई उहाँले सशक्त योगदान गर्नुभयो । नेपाली सञ्चार क्षेत्रमा राजा ज्ञानेन्द्रको ‘कू’सँगै सिर्जना भएको दमनको तथ्ययुक्त कृति ‘स्वतन्त्रता संग्राम’ (२०८०) उहाँको पाँचौं कृतिका रुपमा प्रकाशित छ ।
नेपाल पत्रकार महासंघले गणतन्त्रको एजेन्डा उठाउनुपर्छ भनेर तत्कालिन केन्द्रीय सदस्य थापाले वैचारिक रुपमा नेतृत्व गर्ने, पहलकदमी लिने र लिखित प्रस्ताव राख्नुभयो । उहाँ दोस्रो जनआन्दोलनताका नेपाल पत्रकार महासंघ (२०६२–२०६५) को केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘असक्षम’ भन्दै अपदस्थ गरेर मुलुकको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको समयमा नागरिक अगुवा संगठन पत्रकार महासंघमा गणतन्त्रको आवाज उठेको हो ।



S.K. Creative Media Group