प्यूठान । सूर्ति सेवन तथा लागुपदार्थ दुव्र्यसन रोकथाम र नियन्त्रणबारे एक दिने अभिमुखिकरण कार्यक्रम सदरमुकाम खलंगामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको अयोजना तथा मल्लरानी गाउँपालिका ४ नम्वर वडा कार्यालको समन्वयमा मल्लरानी ईङ्गलिस बोर्डिङ स्कुलमा शनिबार अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठले पछिल्लो समय सूर्तिजन्य पदार्थको सेवन तथा लागुपदार्थ दुव्यसर्नीका कारण नसर्ने रोग बढ्दै गएको बताउनुभयो । नसर्ने रोगको प्रमुख कारणको रुपमा सूर्तिजन्य पदार्थको सेवन र लागुपदार्थ दुव्र्यसनी रहेको उहाँले बताउनुभयो ।
सूर्तिजन्य पदार्थको सेवनबाट नेपालमा प्रत्येक एक घण्टामा दुई जना व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ । दैनिक ४२ जना, मासिक १२६० जना र वार्षिक १५ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक जनस्वास्थ्य अधिकृत श्रेष्ठले प्रस्तुत गर्नुभयो । उहाँले यसलाई रोक्नका लागि जनचेतना आवश्यक रहेकोले विद्यार्थी, अभिभावक र सरोकारवाला निकायलाई अभिमुखिकरण गर्ने गरिएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले आफु र आफ्नो परिवारमा सुर्तिजन्य पदार्थ र मध्यपान नगर्न र नगराउन भूमिका खेल्न आग्रह गनुृभयो । आफू, आफ्नो परिवार, समाज, जिल्ला हुँदै प्रदेशलाई स्वस्थ बनाउन सवैमा सन्देश फैलाउन आग्रह गर्नुभएको छ ।
मल्लरानी गाउँपालिका ४ नम्वर वडाका अध्यक्ष कुमार श्रेष्ठले अभिमुखिकरण कार्यक्रम महत्वपूर्ण रहेको भन्दै अरु स्थानमा पनि यसप्रकारको चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवहारिक रुपमा सूर्तिजन्य पदार्थको सेवा र लागु औषध दुव्र्यसनीबाट बच्न र बचाउन सवैको पहल आवश्यक पर्ने बताउनुभयो ।




S.K. Creative Media Group